काठमाडौँ । नेपाल आयल निगमले शुक्रवारदेखि देशभर ग्यास अभाव हटाउन आधा भरिएको सिलिण्डर बजारमा पठाउन शुरु गरेको छ। देशमा ग्यास आयात खपत अनुसार नै भइरहे पनि उपभोक्तामा फैलिएको त्रासका कारण ग्यास सञ्चिति बढ्दा बजारमा वितरणमा समस्या देखिएपछि निगमले आधा सिलिण्डर बजारमा पठाएको हो। निगमका प्रवक्ता मनोज ठाकुरकाअनुसार सुरुमा चुनावको सन्दर्भलाई लिएर ग्यासको आपूर्तिमा समस्या हुनसक्ने आशंकाले उपभोक्ताले ग्यास जोहो गरेको र अहिले झन सञ्चिति गर्ने क्रम बढ्दा अभाव चर्किंदै गएको बताए।
उनका अनुसार शुरुमा एक–दुई वटा कम्पनीको मात्रै ग्यास अभाव भए पनि अहिले अरु ग्यास पनि नपाइने स्थीति आएपछि त्यसलाई सहजीकरण गर्न आधा सिलिण्डर बजारमा पठाइएको हो। निगमकाअनुसार देशमा ग्यास आयात भने खपत अनुसार नै भइरहेको छ। गत पुस महिनामा ४७ हजार मेट्रिक टन ग्यास आयात भएको थियो भने माघ महिनामा करिव ४६ हजार मेट्रिक टन ग्यास आयात गरिएको छ।
नेपालको मासिक खपत करिब ४५ देखि ४६ हजार मेट्रिक टन ग्यास रहेको ठाकुरले जानकारी दिए। उनकाअनुसार यो महिनामा मात्रै फागुन २६ गतेसम्म करिब साढे ४६ हजार मेट्रिक टन ग्यास आयात भइसकेको छ। तर उपभोक्ताले सहज रूपमा ग्यास नपाएपछि समस्या समाधानका लागि निगमले बृहत छलफल गरेर आधा सिलिण्डर ग्यास वितरण गर्ने निर्णय गरेको ठाकुरको भनाइ छ।
ठाकुरका अनुसार ग्यासको अभावको असर विशेषगरी हुनेखानेभन्दा विद्यार्थी र मजदुर वर्गमा बढी देखिएको छ। उनीहरूलाई एउटा ग्यास सिलिण्डर पाउन महिनौँ कुर्नुपर्ने अवस्था देखिएपछि उक्त समस्या समाधानका लागि ७।१ केजी ग्यास भरेर वितरण गर्ने निर्णय गरि कार्यान्वयनमा ल्याइएको छ।
