पोखरा । नेकपा ( एमाले ) कास्कीका इन्चार्ज कृष्ण थापाको निधन भएको छ। उनी बिहीबार एमाले कास्की जिल्ला कमिटीको बैठकमा बोल्दाबोल्दै ढलेका थिए। उनलाई उपचारका लागि तत्कालै मणिपाल शिक्षण अस्पताल लगिएको थियो। थापाको उपचारका क्रममा निधन भएको हो। उनको हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ। बिहीबार एमाले पार्टी कार्यालयमा कास्की क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा बैठक राखिएको थियो। बैठकमा उनले करिब १० मिनेट बोलेको एमाले नेताहरूले बताएका छन्।
मलाई पार्टीले टिकट दिएको हो । पछि खोसिएको पनि हो । तर पार्टीले सर्मनाक हार व्यहोर्यो । म उठेका सबै कुराको जवाफ दिन तयार छु,’ थापाको सम्बोधनलाई उद्धृत गर्दै टिकाराम पंगेनीले भने, ‘अहिलेको परिणामप्रति मैले जिम्मा लिनुपर्छ । म पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीले कारबाही गरे पनि भोग्न तयार छु ।’ उनले आफ्नो मन्तव्य सके र सबैलाई धन्यवाद दिए । बैठक औपचारिक रूपमा सकियो ।
बैठक सकिए लगत्तै नेता पङ्गेनी मञ्चमा पुगेर थापासँग हात मिलाउँदै थिए । सँगै बसेर कुराकानी गर्दागर्दै एक्कासि थापाको घाँटीबाट घुरेको अस्वाभाविक आवाज आयो । पंगेनीले भने– ‘हात मिलाउने बेलामा एक्कासि उहाँबाट घुरेको आवाज आयो । मैले शङ्का गरिहालेँ । जुत्ता खोलिदिएँ र तुरुन्तै गाडी मगायौँ । स्थिति अस्वाभाविक देखिने बित्तिकै गाडीमा राखी उपचारका लागि मणिपाल अस्पताल लगिएको थियो ।’
उनका अनुसार, ९ मिनेटकै अन्तरमा उनलाई अस्पताल पुर्याइएको थियो । ‘उहाँले निकै सन्तुलित रूपमै आफ्ना कुरा राख्नुभएको थियो,’ पंगेनीले सम्झिए, ‘अन्तिममा हात मिलाउने बेलामै यस्तो दुःखद घटना भयो थापा गण्डकी प्रदेशका पूर्व सांसद हुन्। उनी २०५४ सालमा पोखराको मेयर निर्वाचित भएका थिए।
