काठमाडौं । काठमाडौं–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की उम्मेदवार रञ्जु दर्शना न्यौपाने निर्वाचित भएकी छन्। उनी १५ हजार ४५५ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन्। औपचारिक घोषणा गर्न भने बाँकी छ। दोस्रो पटक प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी न्यौपानेले प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका प्रबल थापालाई मतान्तरले पछि पारेकी हुन्। थापाले ६ हजार ३६४ मत ल्याए।
यसअघिका निर्वाचनमा कडा टक्कर दिँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ३ हजार ९७२ मत ल्याए। चौथो स्थानमा रहेका नेकपा एमालेका मोहन रेग्मीले १ हजार ६१८ मत ल्याए। न्यौपाने २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी थिइन्। विवेकशील अभियानमार्फत् राजनीतिमा पाइला राखेकी न्यौपानेले २०७४ सालको स्थानीय तह निर्वाचनमा २३ हजार बढी मत ल्याएकी थिइन्।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–५ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी उनले अपेक्षित मत प्राप्त गर्न सकिनन्। सेलरोटीको चाङ चुनाव चिह्न लिएर उक्त निर्वाचनमा उम्मेदवार बनेकी न्यौपानेले ६०० हाराहारी मात्रै मत ल्याएकी थिइन्। त्यसपछि राजनीतिमा पछि परेकी न्यौपाने रास्वपा प्रवेशसँगै पुनरागमन भएकी हुन्।
यसअघि उनी विवकेशील साझा पार्टीकी महासचिव थिइन्। विवेकशील साझा पार्टी रास्वपामा समाहित भएपछि हाल उनी उक्त पार्टीको केन्द्रीय समितिमा छिन्। रास्वपा प्रविष्ट भएपछि उनी सुरूआतमा समानुपातिकतर्फको बन्दसूचीमा थिइन्। उनको नाम सूचीमा तल परेपछि असन्तुष्ट रहँदै आएकी थिइन्। न्यौपाने असन्तुष्ट रहेपछि पार्टीले उनको नाम बन्दसूचीबाट फिर्ता लिएर काठमाडौं–१ मा प्रत्यक्षतर्फ उम्मेदवार बनाएको थियो। त्यसो त उनी नवप्रसूता पनि हुन्। त्यसैले उनले घरदैलो पनि गर्न भ्याएकी थिइनन्। दस दिनको शिशु बोकेर मतदान गर्न गएको उनको तस्बिरबारे सामाजिक सञ्जालमा चर्चा पनि भएको थियो।
