काठमाण्डौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको उपचारका लागि २४ घण्टामै झण्डै डेढ करोड रूपैयाँ संकलन भएको छ। दाहिने घुँडामा चोट बोकेकी साम्बाले आफ्नो उपचार गराउनका लागि सरकार र अखिल नेपाल फुटबल संघ ९एन्फा० को सहयोग नपाएको भन्दै सोमबार सहयोगका लागि आह्वान गरेकी थिइन्।
उनको आह्वानपछि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ ९५२ हजार न्युजिल्यान्ड डलर० जम्मा भएको छ। साम्बाको उपचारमा एक करोड रुपैयाँ लाग्ने बताइएको छ।
‘मेरो उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ ९५२ हजार न्युजिल्यान्ड डलर० जम्मा भएको छ । मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै संघ(संस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ । यसले मेरो उपचार खर्च मात्र नभएर, कतारमा उपचारका दौरान लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छ । कतारमा रहनुहुने विभिन्न व्यक्तित्व र संस्थाले पनि सहयोगको वाचा गर्नुभएको छ । त्यसैले म आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु,’ साम्बाको भनाइ छ।
साथै साम्बाले सबैलाई धन्यवाद दिँदै छिटै नेपालको जर्सीमा मैदान फर्कने बाचा समेत गरेकी छन्। उनले भनेकी छन्, ‘यो चोटले मलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि थकाएको थियो। तर तपाईंहरूको साथले मलाई फेरि उठ्ने साहस दिएको छ। म एक्लो छैन भन्ने विश्वास दिएको छ । म दृढ संकल्पका साथ भन्छु, म फर्कनेछु । अझ मजबुत भएर फर्कनेछु । पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिनेछु । देशको लागि, तपाईंहरूको लागि, र त्यो विश्वासको लागि जसले मलाई अघि बढाएको छ ।’
