चितवन । आसन्न प्रतिनिधिसभा निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ । चितवनका तीन निर्वाचन क्षेत्रमा रहेका ४९४ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मंगलबारदेखि अभिमुखीकरण सुरु गरिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज चितवन क्षेत्र नम्बर २ मा खटिने कर्मचारीहरूलाई अभिमुखीकरण तालिम दिएको छ । बुधबार क्षेत्र नम्बर ३ को रामपुरमा र बिहीबार क्षेत्र नम्बर १ मा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई खैरहनीमा अभिमुखीकरण तालिम दिइने छ । अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । मतदान अधिकृतहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासन तयार रहेको उनले बताए ।
प्रमुख निर्वाचन अधिकृत केदारनाथ पौडेलले निर्वाचनमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेर निर्वाचन सम्पन्न गर्न आवश्यक रहेको बताए । निर्वाचन आयोगको अन्तिम चरणको कामको जिम्मेवारी मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूमा हुने भएकाले आफ्नो भूमिकालाई नर्विसन उनले सबैलाई आग्रह गरे ।
क्षेत्र नम्बर २ मा १५२ जना मतदान अधिकृत र सोही सङ्ख्यामा सहायक मतदान अधिकृत खटिने छन् । यस्तै क्षेत्र नम्बर १ मा १६८ जना मतदान अधिकृत र सोही सङ्ख्यामा सहायक अधिकृत एवं क्षेत्र नम्बर ३ मा १७४ जना मतदान अधिकृत र सहायक अधिकृत खटिने निर्वाचन कार्यालयले जनाएको छ ।
अभिमुखीकरण कार्यक्रममा चितवन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत बालकृष्ण निरौला, सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनमा हुने सुरक्षाका बारेमा जानकारी गराउनुभएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरी, सशस्त्र प्रहरीका उपरीक्षक धनबहादुर बानियाँ, नेपाली सेनाका दिनेश बोहोरा र राष्ट्रिय अनुसन्धानका सुरेश तिवारीले लगायतले निर्वाचन सुरक्षाका विषयमा जानकारी गराउँदै सबैसँग सहकार्य गरेर अघि बढ्न आग्रह गरे ।
