काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेत्रविक्रम चन्द ( विप्लव ) नेतृत्वको नेकपा ( माओवादी ) लाई पनि एकता प्रक्रियामा आउन आग्रह गरेका छन्। बुधवार पार्टी कार्यलय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनलाई सुदृढ गर्न एकता आजको अपरिहार्य आवश्यकता भएको बताए। उनले विप्लव नेतृत्वको पार्टीलाई आत्मसमिक्षा गर्दै मूलधारमा फर्किन आह्वान गरे।
समाजवादी मोर्चाको समयदेखि नै एकताका लागि गम्भीर संवाद र छलफल हुँदै आएको उल्लेख गर्दै उनले पछिल्लो पटक एकता लगभग टुंगिएको आफूले बुझेको भएपनि त्यो सफल हुन नसकेको बताए। जेनजी आन्दोलनपछि विप्लव पक्ष वैचारिक अन्योल र विचलनतर्फ गएको संयोजक दाहालको टिप्पणी छ। जेनजी आन्दोलनपछि मुख्य नेतृत्व नै ठूलो भुमरीमा परेको जस्तो आफूलाई लागएको उनले बताए।
संयोजक दाहालले आफूहरूले पनि आत्मसमिक्षा गरेर एकताको बाटो रोजेको उल्लेख गर्नुर्दै विप्लव पक्षलाई अझै अवसर बाँकी रहेको बताए। उनले वास्तविक घर यही भएकाले यताउता भौतारिएर केही नहुने उल्लेख गर्दै आत्मसमिक्षा गरेर एकतामा प्रक्रियामा आए फेरि स्वागत गर्न आफूहरू तयार रहेको बताए। उनले कम्युनिष्ट शक्तिहरू एक नभएर अगाडी नबढेमा देश दुर्घटनामा जानसक्ने पनि बताए। निर्वाचन नजिकिँदै गरेकोले एकता प्रक्रियामा आउनु उनले सम्पूर्ण विचार मिल्ने शक्तिहरूलाई आग्रह गरे।
