काठमाण्डौं । नेपाल आइसिसी वुमन्स टी–२० विश्वकप विश्व छनोट अन्तर्गत समूह चरणबाटैस्कटल्यान्डसँग ७२ रनले पराजित भएसँगै बाहिरिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको समूह ‘बी’ को आफ्नो अन्तिम तथा महत्वपूर्ण खेलमा नेपालको ब्याटिङ राम्रो हुन सकेन। १४० रनको लक्ष्य पछ्याएको नेपाल १३।५ ओभरमा अलआउट भयो। नेपालका लागि विन्दू रावलले १४ रन जोडिन्। रोमा थापा १४ रनमा नटआउट रहिन्। नेपालका अरु ब्याटरले उल्लेख्य रन बनाउन सकेनन्। बलिङमा स्कटल्यान्डका अब्ताहा मक्सुदले ३ विकेट लिइन्।
सुपर(६ मा पुग्न जित्नै पर्ने नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड २० ओभरमा १४० रनमा अलआउट भयो। स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले नटआउट ४५ रन बनाइन्। उनले २८ बलमा ७ चौका प्रहार गरिन्। अलिसा लिस्टरले २२ रन बनाइन भने विकेटकिपर साराह बाइसले १८ रन बनाए। बलिङमा नेपालकी मनिषा उपाध्यायले ४ विकेट लिइन् भने रुबिना क्षेत्रीको नाममा ३ विकेट रह्यो।
समूहमा यसअघि थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजय भोगेको नेपालले जिम्बावेलाई भने हराएको थियो। नेपालका लागि स्कटल्यान्डलाई हराए मात्र शीर्ष तीनमा परेर सुपर–६ मा पुग्ने सम्भावना थियो। समूहबाट स्कटल्यान्डसँगै नेदरल्यान्ड्स र थाइल्यान्ड सुपर–६ मा पुगेका छन्। यससँगै यसै वर्ष इंग्ल्यान्ड र वेल्समा हुने आइसिसी वुमन्स टी–२० विश्वकप खेल्ने नेपालको लक्ष्य पूरा हुन सकेन। दश टोलीबीच जारी यो छनोटबाट शीर्ष चार टोली विश्वकपमा पुग्नेछन्।
