काठमाण्डौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्ने बताएका छन् । पार्टीमा नयाँ सदस्यलाई स्वागत गर्दै दाहालले मुलुकमा विद्यमान सङ्कटको समाधान गर्न आफ्नो पार्टी सक्षम रहेकाले निर्वाचनमा जनताले फेरि पनि एक नम्बरको पार्टीका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे । देशलाई माया गर्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी रहेको जनतालाई बुझाउन सकेमा देशको पहिलो पार्टी बन्ने उनले बताए ।
पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट पार्टीको मूलधार भएको जनताले बुझेको दाबी गर्दै पार्टीले अवलम्बन गरेको समाजवादी विचार देशैभरि पुर्याएर लैजानुपर्नेमा जोड दिए । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश अझै संकटमा रहेको भन्दै दुर्घटना अझै टरिनसकेको बताएका छन्। एमाले ओखलढुङ्गा कमिटीका नेताहरूलाई पार्टीमा भित्र्याउँदै उनले अझै अरूको मुख ताकेर नहुने बताए।
उनले भने, ‘दुर्घटना अझै टरिसक्यो भन्ने पनि छैन। बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सकिएन भने फेरि पनि दुर्घटना हुनसक्छ। देशलाई फेरि अर्को खाल्टोमा जान नदिन हामीले जिम्मेवारी लिएका छौँ। त्यसैले वामपन्थी, कम्युनिस्ट र राष्ट्रवादी शक्तिहरूलाई एकैठाउँमा ल्याएका छौँ।’
