काठमाडौँ । सञ्चारकर्मी तथा निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) मा प्रवेश गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि उनले सोमबार मात्रै मन्त्री पदबाट राजीनामा दिएका थिए ।
खरेलले ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट रास्वपाको उम्मेदवारका रूपमा आफ्नो मनोनयन दर्ता गराउने तयारी गरेका छन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हालेका उनले सरकारको स्वतन्त्र र गैर–राजनीतिक पहिचान कायम राख्न तथा सक्रिय दलीय राजनीतिमा होमिनका लागि पद त्याग गरेको बताएका छन् ।
लामो समय पत्रकारितामा सक्रिय रहेका खरेल ुजेनजीु आन्दोलनपछि बनेको नागरिक सरकारमा मन्त्री नियुक्त भएका थिए । रास्वपाले उनलाई ललितपुर–२ मा मुख्य उम्मेदवारका रूपमा अघि सारेपछि उक्त क्षेत्रको चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ । मंगलबार बिहान एक विशेष कार्यक्रमका बीच उनलाई रास्वपामा स्वागत गरिएको हो ।
