काठमाडौँ । धरानमा बस दुर्घटना हुँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ। भेडेटारबाट धरानतर्फ गइरहेको को १ ख ७११९ नम्बरको स्कुल बस आज दिउँसो धरान–१३ स्थित जिरो प्वाइन्ट नजिक अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख केशव थेवेले जानकारी दिए।
बसले सडकछेउमा रहेको ‘न्यु शबा मेडिकल’ नामक औषधि पसलमा ठक्कर दिँदा पसलमा समेत क्षति पुगेको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। दुर्घटनामा मृत्यु भएका व्यक्तिहरू बसभित्र सवार थिए वा बाहिर रहेका थिए भन्ने विषयमा अहिलेसम्म स्पष्ट हुन नसकेको प्रहरी प्रमुख थेवेले बताए। प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनासम्बन्धी थप जानकारी संकलन गर्ने काम भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको छ।
