काठमाडौँ । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता गरेको प्रमाण निर्वाचन आयोगमा बुझाएको छ । शुक्रबार बिहान निर्वाचन आयोगमा दलबलसहित पुगेका कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई हस्ताक्षर फिर्ताका निवेदनसहितको प्रमाण बुझाएको हो ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन गरी महामन्त्री थापाकै नेतृत्वमा नयाँ कार्यसमिति बनाएका छन् । त्यो विशेष महाधिवेशन विधानसम्मत नभएको भन्दै देउवा समूह शुक्रबार निर्वाचन आयोग पुगेको थियो । विशेष महाधिवेशनको प्रमाण नपुग्ने आधार भन्दै हस्ताक्षर फिर्ताका प्रमाण आयोगमा बुझाएको कार्यवाहक सभापति खड्काले जानकारी दिए ।
सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको १४ औँ महाधिवेशनबाट निर्वाचित सिङ्गो केन्द्रीय कार्यसमिति, पार्टीका प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, निर्वाचन क्षेत्रीय कार्यसमिति, गाउँ कार्यसमिति, पालिका कार्यसमिति सबै आफूहरूसँगै रहेको पनि खड्काले बताए । उनले भने, ‘केन्द्रीय कार्यसमिति बाहेक कुनै पनि निकाय वा व्यक्तिले पार्टीको सभापति, कार्यवाहक सभापति, पदाधिकारी, सदस्य व्यक्तिले वा कुनै समूहले नेपाली कांग्रेसको कुनै पनि तहको, कुनै पनि प्रकृतिको अधिवेशन गर्ने अधिकार राख्दैन । नेपाली कांग्रेसको विधानमा प्रस्ट व्यवस्था छ ।’
