काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेको मुद्दा प्रकरणमा सरकारले नाटक मञ्चन गरेको आरोप लगाएका छन्। उनले सरकारले कहिले मुद्दा लगाउने र कहिले फिर्ता लिएर अमुक व्यक्तिलाई ‘हिरो’ बनाउने खेल खेलेको टिप्पणी गरे। मंगलबार काठमाडौंमा आयोजित ४२ औं पिस्कर सहिद स्मृति दिवस तथा सरेस नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
महान्यायाधिवक्ता कार्यालयले लामिछानेमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर नदेखिएको भन्दै अभियोग पत्र संशोधन गर्न निर्णय गरे लिएपछि ओलीले अभिव्यक्ति दिएका हुन्। अध्यक्ष ओलीले विधि र कानुनलाई राजनीतिक स्वार्थ अनुसार प्रयोग गरिएको भन्दै आक्रोश पोखे। उनले हिजो मुद्दा लगाउने र आज फिर्ता लिएर चुनावमा ‘हिरो’ बनाउन खोजिएको जिकिर गरे।
‘हिजो केही नहुँदा पनि मुद्दा लगाइएको थियो। आज फेरि फिर्ता लिइँदैछ वा संशोधन गरिँदैछ,’ ओलीले भने, ‘अब अभियोगबाट बरी गरिन्छ। यो सब किन गरिँदैछ भने चुनावमा हिरो बनाएर अगाडि सार्न सकियोस्।’ उनले कुनै व्यक्तिको सम्पत्ति खाए पनि खान पाइने र मुद्दा नलाग्ने स्थिति सिर्जना गरिएको भन्दै व्यंग्य गरे। महान्यायाधिवक्ता कार्यालयले सोमबार मात्रै सहकारीको रकम गोर्खा मिडियामा ल्याउने प्रक्रियामा रवि लामिछानेको संलग्नता नदेखिएको भन्दै उनीमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग हटाउन मातहतका कार्यालयलाई निर्देशन दिएको थियो।
ओलीले सोही सन्दर्भलाई लिएर सरकारको नियतमाथि प्रश्न उठाएका हुन्। सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकारको कार्यशैलीप्रति आलोचना गर्दै यसलाई ‘विदेशीको पपेट’ को संज्ञा दिए। नेपालमा नेपालीको सरकार हुनुपर्छ, विदेशीको आदेश तामेल गर्ने पपेट सरकार होइन,’ ओलीले भने, ‘नेपालीको सरकार हुनुपर्छ भन्नेहरूको मनोबल गिराउन आज व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सबैतिर आगो लगाउने काम भइरहेको छ।’ उनले देशको राष्ट्रिय अर्थतन्त्रलाई ध्वस्त बनाएर परनिर्भरता बढाउन खोजिएको आरोपसमेत लगाए ।
