काठमाण्डौं । विशेष महाधिवेशनबाट चुनिएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन आयोगलाई माघ ६ गतेको समयसीमालाई ख्याल गरी चाँडो निर्णय गर्न अनुरोध गरेका छन्। बिहीबार दिउँसो सभापति थापाले निर्वाचन आयोग पुगेर विशेष महाधिवेशन पछि भएका घटनाक्रमको अध्यावधिक गर्न प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अनुरोध गरेका हुन्।
‘माघ ६ गते निर्वाचनको लागि मनोनयन दर्ता गर्नुपर्ने बाध्यता छ। त्यसलाई ख्यालमा राखेर छिटो निर्णय गर्न अनुरोध गर्यौं,’ उनले भने, ‘निर्णय गरेर बाहिर भएको दुविधा पनि हटाइदिन अनुरोध गरेका हौं।’
सभापति थापाले बिहीबार आयुक्त भण्डारीलाई विवरण अध्यावधिक गराउनका लागि तथ्य, प्रमाण, कागजातहरू बुझाएको बताए। आयोग जानुअघि सभापति थापाको नेतृत्वमा ललितपुरको कुपन्डोलमा पहिलो केन्द्रीय समितिको बैठक बसेको थियो। उक्त बैठकले निर्वाचन आयोगमा हस्ताक्षरसहित अन्य पदाधिकारीहरूको विवरण पनि अध्यावधिक गराउने निर्णय गरेको थियो।
