काठमाडौं । सरकारले आजबाट निर्वाचन प्रहरीको भर्नाका लागि फर्म खुलाएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि भर्ना खुलाइएको हो । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले सूचना जारी गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको छ ।
जसअनुसार, जिल्ला प्रहरी परिसर काठमाडौंमा आजबाट दरखास्त लिने क्रम सुरु भएको हो । यो क्रम आगामी माघ १ गतेसम्म जारी रहने जनाइएको छ । बिदाको दिन पनि दरखास्त लिइने सूचनामा उल्लेख छ । जिल्ला प्रहरी परिसरहरू ९काठमाडौं, भक्तपुर र ललितपुर ० र सबै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिन्छ ।
निर्वाचन प्रहरी छनोटमा पूर्वसुरक्षाकर्मी एवं पूर्ववन रक्षक, पछिल्लोपटक विभिन्न सुरक्षा निकायको भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरूलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ । यसका साथै, यसअघिका निर्वाचनमा म्यादी प्रहरीका रुपमा भर्ना भई सन्तोषजनक रुपमा काम गरेका व्यक्ति र विदेशी राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकले पनि प्राथमिकता पाउनेछन् ।
आगामी फागुन २१ गतेलाई तोकिएको निर्वाचनका लागि आजदेखि इलाममा निर्वाचन प्रहरी भर्ना सुुरु गरिएको छ । आगामी माघ १ गतेसम्म भर्ना गरिने निर्वाचन प्रहरीलाई माघ ५ गतेदेखि ९ गतेसम्म छनोट गरिने जनाइएको छ । माघ १२ गते छनोटको नतिजा प्रकाशन गरेर माघ १५ देखि माघ २४ गतेसम्म उनीहरुलाई प्रशिक्षण गराइने तालिका रहेको कार्यालयले जनाएको छ । निर्वाचन प्रहरी मतदान केन्द्र, मतदान स्थलमा नेपाल प्रहरीसँगै ४० दिन काम गर्नेछन् ।
