काठमाण्डौं । इन्डिजिनियस जेन–जी कलेक्टिभले समानुपातिक समावेशी निर्वाचन प्रणालीको प्रणालीगत दुरुपयोग र असंवैधानिक अतिक्रमणको विरोधमा बुधबार शान्तिपूर्ण प्रदर्शन गरेको छ । नयाँ बानेश्वरस्थित संसद भवन अगाडी कलेक्टिभले दलहरूलाई समानुपातिक प्रतिनिधित्व प्रणाली कमजोर बनाउने योजनाबद्ध प्रयास गरिरहेको आरोप लगाएको छ ।
प्रदर्शनमा सहभागिहरुले नेताको आसेपासे होइन उत्पीडितलाई अवसर दे, संविधानले सुनिश्चित गरेको समावेशी समानुपातिक व्यावस्था तत्काल लागु गर, लोकतन्त्रको बचाउ गर पारिवारिक कम्पनी बन्द गर, समावेशी समानुपातिकको नाममा आफ्नो आसेपासे भरौटेलाई ठाउँ दिन पाईदैन लगायत लेखिएका प्लेकार्डहरु प्रर्दशन गर्दै विरोध गरेका थिए ।
समानुपातिक प्रतिनिधित्व कुनै राजनीतिक देन नभई समानता, समावेशीकरण, पुनर्स्थापनात्मक न्याय र वास्तविक लोकतन्त्रमा आधारित बाध्यकारी संवैधानिक दायित्व भएको उनीहरुको राय छ । नेपालको संविधानको धारा ४२९१०, ८४९२० र १७६९६० ले महिला, आदिवासी जनजाति, दलित, मधेसी, थारु, मुस्लिम, खस आर्य, अपाङ्गता भएका व्यक्ति, यौनिक तथा लैंगिक अल्पसंख्यक र अन्य सीमान्तकृत समुदायहरूको सबै राज्य संरचनामा अर्थपूर्ण सहभागिता सुनिश्चित गरेको भए पनि राजनीतिक दलहरूले हालै सार्वजनिक गरेका समानुपातिक उम्मेदवार सूचीले ती संवैधानिक प्रावधानहरू उल्लङ्घन गरेको कलेक्टिभको दाबी छ ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनका लागि प्रकाशित समानुपातिक सूचीमा राजनीतिक, पारिवारिक र आर्थिक सम्भ्रान्त वर्गलाई प्राथमिकता दिइएको र भुइँतहका आवाजहरूलाई प्रणालीगत रूपमा बहिष्कृत गरिएको कलेक्टिभको ठहर छ ।
इन्डिजिनियस जेन–जी कलेक्टिभले समानुपातिक सूची तयार गर्दा अपनाइएका मापदण्ड र प्रक्रिया सार्वजनिक गर्न, संवैधानिक उल्लङ्घन गर्ने पार्टी र व्यक्तिहरूलाई जवाफदेही बनाउन तथा सबैभन्दा सीमान्तकृत समुदायहरूको न्यायोचित सहभागिता सुनिश्चित गर्न माग गरेको छ । उनीहरुले “सविधानले सुनिश्चित गरेको समावेशी समानुपातिक व्यवस्था लागु गर”, “उत्पीडित सिमान्तकृत”, “अल्पसङ्खयकको लागि छुट्याइएको ठाँउ आगट्न बन्द गर”, “समावेशी, समानुपातिक व्यवस्था तत्काल लागु गर, समावेशी समानुपातिकको नाममा आफ्नो आसेपासे भरौटेलाई ठाँउ दिन बन्द गर”, लगायतका प्लेकार्डसहित प्रर्दशन गरेका हुन् ।
