काठमाडौं । अब सबै भन्सार कार्यालयमा अनलाइन मूल्यांकन डाटाबेस प्रणाली कार्यान्वयनमा आएको छ । अर्थमन्त्री रामेश्वर खनालले कार्यभार सम्हाले लगत्तै अनलाइन डाटाबेस प्रणाली कार्यान्वयन सुरु गरेका थिए । सुरुमा विराटनगर भन्सारबाट सुरु यो प्रणाली देशभरका सबै भन्सार कार्यालयमा सुरु गरिएको हो । यसको घोषणा पूर्वअर्थमन्त्री विष्णु पौडेलले नै गरेका थिए । तर, कार्यान्वयनमा आउन सकेको थिएन ।
अर्थमन्त्री खनालले भर्चुअल माध्यमबाट एकसाथ १८ भन्सार कार्यालयमा यस्तो प्रणाली सुरु गरेका हुन् । भन्सार व्यवस्थापन गोष्ठी उद्घाटन गर्दै अर्थमन्त्री खनालले लामो समयदेखि भन्सारमा जीएटीटी मूल्यांकन प्रणाली पूर्णरूपमा लागु भएको र अब सन्दर्भ मूल्यका सट्टा कारोबार मूल्यलाई लागु गरिएको बताए ।
उनले वस्तुको मूल्य बजारले निर्धारण गर्ने भन्दै प्रक्रियागत सरलीकरणमा जोड दिए । उनले आगामी दिनमा भन्सारलाई उत्पादन र निर्यातमा आधारित अर्थतन्त्र निर्माणको मेरुदण्डका रूपमा विकास गरिनुपर्ने समेत बताए । निजी क्षेत्रले नक्कली बिल–बिजक जारी गर्नुपर्ने बाध्यता अन्त्य गर्दै व्यवसायी यो परिवर्तन अनुरूप वास्तविक कारोबार र सही कागजात मात्र पेस गरी इमानदार हुनुपर्ने बताए ।
