वीरगञ्ज । वीरगञ्जमा धार्मिक सद्भाव भड्किन नदिन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । धनुषामा मस्जिद तोडफोडको घटनालाई लिएर वीरगञ्जमा बिहानैदेखि हिन्दूवादी संगठनहरूले प्रदर्शन गरेका छन् । मुस्लिम र हिन्दू समुदाय एक(अर्काविरुद्ध प्रदर्शनमा उत्रिएपछि स्थिति नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।
दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि सभा, भेला तथा जुलुस प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो । सीडीओ भोला दाहालद्वारा जारी आदेशमा बसपार्क, सिर्सिया पुल, पावर हाउस चौक र शंकराचार्य गेटलाई निषेधित क्षेत्र तोकिएको छ ।
वीरगञ्ज महानगरपालिका क्षेत्र आज ९सोमबार० बिहानैदेखि फेरि तनावग्रस्त बनेको छ। विभिन्न हिन्दुवादी सङ्गठनहरूले बिहानैदेखि विरोध प्रदर्शन सुरु गरेपछि यहाँको अवस्था तनावपूर्ण बनेको हो।
धनुषामा भएको मस्जिद तोडफोडको घटनालाई लिएर आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेको थियो। त्यसको विरोधस्वरूप तथा हिन्दु देवीदेवतामाथि अभद्र र आपत्तिजनक टिप्पणी गरिएको भन्दै सोमबार बिहान हिन्दुवादी सङ्गठनहरू प्रदर्शनमा उत्रिएका हुन्। हिन्दु धर्मबारे अफवाह फैलाउने र अपमान गर्नेहरू विरुद्ध कारबाहीको माग गर्दै सङ्गठनले विरोध प्रदर्शन गरेको अगुवाहरूले बताएका छन्।
पर्सा प्रहरीका अनुसार अहिले मुस्लिम समुदाय र हिन्दु समुदाय दुवैले वीरगञ्जमा एक अर्काविरुद्ध प्रदर्शन गरिरहेका छन्। दुवै समुदाय आमुन्नेसामुन्ने भएर प्रदर्शनमा उत्रिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित झडपलाई मध्यनजर गर्दै प्रहरीले वीरगञ्जको मकालु चोकमा प्रवेशमा रोक लगाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता राजु कार्कीले मकालु चोकबाट मुस्लिम बसोबास रहेको बस्ती छपकैयातर्फ जान रोक लगाइएको र छपकैयाबाट मुख्य बजारतर्फ आउन पनि बन्देज लगाइएको जानकारी दिए। प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले स्थितिलाई सामान्य बनाउन पहल थालेको छ। प्रशासनले निकास खोज्नका लागि हिन्दुवादी सङ्गठनका प्रतिनिधिहरूसँग छलफल सुरु गरेको जनाएको छ।
