काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अध्यक्ष दुर्गा प्रसाईँले आफूले अघि सारेको माग सम्बोधन गर्न प्रधानमन्त्रीले आइतबारसम्म समय मागेको बताएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अब आइतबारसम्म प्रधानमन्त्रीलाई कुर्ने बताए। उनले भने, ‘प्रधानमन्त्रीले हामीलाई आइतबारसम्मको समय दिनुस् भन्नुभएको छ। आइतबार दुई पक्ष बसेर सम्झौता गर्ने र सोमबारको मन्त्रिपरिषद् बैठकबाट कार्यान्वयनको निर्णय गरौँ भन्ने कुरा छ। आइतबार सक्ने नसक्ने भन्छु भन्नुभएको छ।’ आइतबारसम्म सम्झौता नभए आन्दोलनमा जाने चेतावनी दिए। नेपाल सबैको साझा रहेको भन्दै एउटा पक्षलाई रुवाएर चुनावमा जान नसकिने उनले बताए।
उनले प्रधानमन्त्री कार्कीलाई जनमत सङ्ग्रहमा जान प्रस्ताव राखेको बताए। उनले थपे, ‘संसदबाट दुई तिहाइले पारित गरेपछि मात्रै जनमत सङ्ग्रहमा जान्छ भन्नुभयो। मैले तपाईँ पनि दुई तिहाइबाट प्रधानमन्त्री बन्नुभएको होइन। जुन बाटोबाट प्रधानमन्त्री बन्नुभयो त्यही बाटोबाट जनमत सङ्ग्रहमा जाऔँ। खाली संविधान पल्टाएर नबसौँ। उनले अहिले देशमा कुनै संविधान लागू नभएको बताए।
