काठमाण्डौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशका पूर्वप्रधानमन्त्री तथा बङ्गलादेश नेशनलिस्ट पार्टी ९बिएनपी० का अध्यक्ष बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी भएका छन्। पूर्वप्रधानमन्त्री जियाको उपचारका क्रममा यही पुस १५ गते ८० वर्षको उमेरमा निधन भएको हो। बङ्लादेशको ढाकामा बुधबार परराष्ट्रमन्त्री शर्माले पूर्वप्रधानमन्त्री जियाको पार्थिव शरीर राखिएको समाधिस्थल पुगेर नेपाल सरकारको तर्फबाट पुष्पगुच्छा अर्पण गरेको बङ्लादेशस्थित नेपाली दूतावासले जनाएको छ।
परराष्ट्रमन्त्री शर्माले जियाका पुत्र तथा बङ्गलादेश नेशनलिस्ट पार्टीका कार्यवाहक अध्यक्ष तारिक रहमानसँग भेट गरी नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट समवेदना व्यक्त गरेका थिए। सो अवसरमा मन्त्री शर्माले पूर्वप्रधानमन्त्री जिया बङ्गलादेशको राजनीतिक तथा लोकतान्त्रिक यात्रामा महत्त्वपूर्ण योगदान पुर्याउने विशिष्ट राजनेत्री रहेको उल्लेख गरे।
जवाफमा रहमानले अन्त्येष्टिमा उपस्थित भई अन्तिम श्रद्धाञ्जली अर्पण गरेकामा परराष्ट्रमन्त्री शर्मालाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा दुई देशबीचको उत्कृष्ट मित्रता र सहकार्य अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका थिए। बुधबार दिउँसो परराष्ट्रमन्त्री शर्माले बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार महामहिम प्रा डा मुहम्मद युनुससँग शिष्टाचार भेट गरेका थिए। सो अवसरमा उनले नेपालका प्रधानमन्त्री सुशीला कार्कीबाट स्व जियाको निधनप्रति समवेदना व्यक्त गरिएको सन्देश प्रमुख सल्लाहकारलाई हस्तान्तरण गरेका थिए।
प्रधानमन्त्रीको सन्देशमा जियाले विशेषगरी आफ्नो तीन कार्यकालको प्रधानमन्त्रीत्वकालमा नेपाल–बङ्गलादेश सम्बन्ध सुदृढ गर्न खेलेको भूमिकाको कृतज्ञतापूर्वक स्मरण गरिएको छ। परराष्ट्रमन्त्री शर्माले स्व जियालाई बङ्गलादेशको विकास र समृद्धिमा पुर्याएको योगदानका साथै क्षेत्रीय सहकार्य र ऐक्यबद्धताको प्रबल पक्षपोषकका रूपमा सधैँ सम्झिइने उल्लेख गरेका थिए।
प्रमुख सल्लाहकार युनुसले बङ्गलादेशको स्वतन्त्रतापछि विभिन्न कठिन समयहरूमा समेत बङ्गलादेश सरकार र जनताप्रति नेपालले देखाउँदै आएको सच्चा मित्रता र निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गरे। भेटका क्रममा दुवै पक्षले नेपाल–बङ्गलादेश सम्बन्धको उत्कृष्ट अवस्थाबारे चर्चा गर्दै व्यापार, ऊर्जा, कनेक्टिभिटी, पर्यटन तथा जनस्तरको आदानप्रदानलगायत पारस्परिक हितका क्षेत्रमा सहकार्य थप विस्तार गर्ने उपायहरूबारे विचारविमर्श गरेका थिए।
परराष्ट्रमन्त्री शर्माले बङ्गलादेशका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार एमडी तौहिद होसैनसँग पनि भेट गरी व्यक्तिगत समवेदना पत्र हस्तान्तरण गरेका थिए। परराष्ट्र सल्लाहकार होसैनले अन्त्येष्टिमा सहभागी भएकामा परराष्ट्रमन्त्री शर्मालाई धन्यवाद दिँदै सबै अवसरमा नेपाल सरकारले प्रदान गर्दै आएको निरन्तर सहयोगप्रति प्रशंसा व्यक्त गरेका थिए। यही पुस १५ गते बङ्गलादेश प्रस्थान गरेका परराष्ट्रमन्त्री शर्मा आज दिउँसो ढाकाबाट काठमाडौं प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
