काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेबीच अढाई घण्टा लामो वार्ता भएको छ । वार्ता सकेर अहिले रास्वपा सभापति लामिछाने बाहिरिएका छन् । बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानीसमेत गरेका थिए ।
वार्ताको परिणामबारे सञ्चारकर्मीहरुले राखेको चासोमा सभापति लामिछानेले परिणामका लागि केही समय कुर्नुपर्ने जवाफ दिए । उनले सञ्चारकर्मीहरुसँग प्रश्नको सिधा जवाफ नदिई प्रतिप्रश्न गरेका थिए । उनले वार्ताको परिणामबारे सोधिएको प्रश्नमा भने, ‘मेरो अनुहारले के बताउँछ ? ’
‘अब जनताले चाहेको परिणाम आउँछ त ? ’ भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उनले त्यसका लागि पनि अलिकता समय प्रतिक्षा गर्नुपर्ने बताएका थिए ।
साथै, लामिछानेले आफूहरुबीचको छलफल सकारात्मक रहेको पनि बताए । ‘बालेनले लौरो टेक्छन् कि घण्टी बजाउँछन् त ? ’ भनी सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा उनले त्यो सबै समयले बताउने जवाफ दिए ।
