काठमाडौं । शीतल निवासमा ३ शीर्ष नेतासहित प्रधानमन्त्री र राष्ट्रपति रामचन्द्र पौडेल छलफलमा जुटेका छन् । शितलनिवासमा सुरु भएको छलफलमा आज पहिलोपटक प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दल कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीका नेतृत्वबीच भेटवार्ता भएको हो ।
राष्ट्रपति पौडेलले घोषित मिति २१ फागुनमा नै प्रतिनिधिसभाको निर्वाचन गराउनको लागि सरकार र प्रमुख दलका नेतृत्वलाई आज एक ठाउँमा राखेर छलफल गरेका हुन् । प्रधानमन्त्री कार्कीले हिजोमात्रै विभिन्न ७ दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, सुरक्षा निकायका प्रमुख र निर्वाचन आयोगका पदाधिकारीसहितको छलफल राखेकी थिईन् ।
सो बैठकमा समेत प्रधानमन्त्री कार्कीले तोकिएकै मितिमा निर्वाचन गराउन दलहरु गम्भीर भएर लाग्नुपर्ने र वातावरण बनाउनुपर्नेमा जोड दिएकी थिईन् । त्यसको भोलिपल्ट आज राष्ट्रपतिको पहलमा यो शीर्ष सम्वाद सुरु भएको हो । छलफलमा राष्ट्रपति रामचन्द्र पौडेलसहित प्रधानमन्त्री कार्की, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहभागी छन् ।
आजमात्रै सरकारी राजनीतिक सम्वाद समितिले कांग्रेस, एमाले र नेकपाको पार्टी कार्यालयको अवलोकन गरेको थियो । जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी कार्कीले शीर्ष नेताको मुख हेर्न नचाहेको सार्वजनिक अभिव्यक्ति नै दिएकी थिइन् । अहिले राष्ट्रपतिको पहलमा प्रत्यक्ष संवाद गरेकी हुन् ।
