काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबीच मध्यरातमा भएको भेटवार्ता सकारात्मक रहेको नेताहरुले बताएका छन् । दुई जनाबिच भएको भेटवार्ता पछि सामाजिक संजाल तातेको छ । धेरैले दुबै जना मिल्नु अहिलेको आवश्यकता हो भनेका छन् भने कतिपयले बिरोध समेत जनाएका छन् ।
सोमबार राति काठमाडौँमा रहेको असिम साहको म्युजिक कम्पनी जी–२१ को कार्यालयमा रवि र बालेनबीच भेटवार्ता भएको हो। भेटपछि दुवै नेता एउटै गाडीमा सँगै बाहिरिएका थिए । भेटमा सहभागी असिम साहका अनुसार छलफल सौहार्दपूर्ण वातावरणमा भएको छ ।
भेटवार्तामा भएका ठोस विषय सार्वजनिक नगरिए पनि मिलेर अघि बढ्नुपर्ने आवश्यकता र राजनीतिक सहकार्यका विषयमा सकारात्मक संवाद भएको नेताहरूको भनाइ छ। भेटलाई पछिल्लो समय देखिएको राजनीतिक दूरी घटाउने प्रयासका रूपमा पनि हेरिएको छ।
भेटको समन्वय गरेका रास्वपा नेता असिम साहले फेसबुकमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपाली लाई बधाई ।’
