भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेले कुल तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ रकम बुझाएर छुटेका छन्। शुक्रबार भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा तीन करोड ७४ लाख ८४ हजार बराबरको बैंक जमानत बुझाएर छुटेका हुन्। धरौटी बुझाएर छुटेपछि कार्यकर्ता र शुभचिन्तकको माझ उनले न्यायको लडाइँ अझै लड्न बाँकी भएको बताएका छन्।
‘न्यायको यो लडाइँ मेरो बाँकी नै छ,’ उनले भने,‘ मैले अझै धेरै लड्नु नै छ। मैले मेरा लागि नभई तपाईं र यो देशको न्यायको लागि लड्नुपर्नेछ। यिनीहरूले यो देशमाथि गरेको अन्यायको अगाडि ममाथि गरेको अन्याय केही पनि होइन। त्यो सबको हिसाब गर्नुछ।’ उनले बोल्ने समय बाँकी नै रहेकोले केही समय धैर्य गर्न आग्रह गरेका छन्।
‘मैले बोल्ने समय बाँकी छ। केही समय धैर्य गर्नुहोला,’ उनले भने,‘मैले धेरै कुरा भन्न बाँकी छ।’ बिहीबार उच्च अदालत तुलसीपुरको बुटवलका न्यायाधीशहरू वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रवि लामिछानेलाई छाड्न आदेश दिएको थियो। छाड्न आदेश गर्दा इजलासले शर्त पनि राखेको थियो।
रवि लामिछानेले अदालतबाट छुटिपाउन दिएको निवेदनमा आफ्नो भागमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो बराबरको रकम बुझाउने भनेका थिए। उक्त रकमलाई उच्च अदालतले स्वीकार गरी रविलाई छाड्ने आदेश गरेको हो। यसअघि गत माघ १३ गते जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले रविलाई पुर्पक्षका लागि एक करोड रुपैयाँमा छाड्न आदेश गरेको थियो। उक्त एक करोड रुपैयाँ धरौटी पनि बुझाउन आदेश उच्च अदालतले गरेको हो।
