जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सत्ता गठबन्धनका सात दलसहित विपक्षी दल नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादीका सांसदले पनि समर्थन गरेपछि उनले शुक्रबार प्रदेशसभामा शतप्रतिशत विश्वासको मतप्राप्त गरेका हुन्।
बैठकमा उपस्थित ९२ सांसदले नै मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका हुन्। मधेस प्रदेशका मुख्यमन्त्रीले संसद् बैठकमा उपस्थित सबै सांसदको विश्वासको मत पाएको यो दोस्रो पटक हो। यसअघि जसपा नेपालका तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले पनि बैठकमा उपस्थित १ सय २ सांसदले विश्वासको मत दिएका थिए ।
विश्वासको मतका लागि प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा ९२ सांसदले मतदान गरेपछि उपसभामुख बबिता राउतले मुख्यमन्त्री यादवले विश्वासको मतप्राप्त गरेको घोषणा गरिन् । मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न ५४ मत आवश्यक थियो। १ सय ७ सदस्यीय प्रदेशसभामा १२ जना अनुपस्थित थिए भने ३ सांसद निलम्बनमा परेका छन्।
विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले विकासका कामलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छ्न । ‘जनताले महसुस गर्ने गरी राम्रा योजना ल्याएर विकास निर्माणका काम अघि बढाइनेछ,’ मुख्यमन्त्री यादवले भने, ‘प्रदेशमा भ्रष्टाचार नियन्त्रणका लागि ठोस कदम चालिनेछ। राम्रा काम गर्ने कर्मचारीलाई पुरस्कृत र काम नगर्नेलाई दण्डित गरिनेछ।’ उनले भने, ‘संघीयता मधेसका लागि आवश्यक हो । संघीयता अरु प्रदेशले नचाहे पनि मधेसलाई चाहिन्छ । नेपाली कांग्रेस जिम्मेवार पार्टी हो । संघीयताको पक्षमा सधैँ अडिग रहन्छ ।’
एमालेका सांसद महम्मद समिरले आफ्नो दल सरकार बाहिर रहेर पनि विश्वासको मत दिएको बताए । ‘सात दलीय गठबन्धनको सरकारलाई विश्वासको मत दिँदै गर्दा अरु दललाई सशंकीत नहुन आग्रह गर्दै उनले भने, ‘स्थायित्वका लागि मुख्यमन्त्रीलाई विश्वासको मतदिने पार्टीले निर्णय गरेका हुन् ।’
नेपाली कांग्रेसका तर्फबाट यादवलाई जसपा नेपाल, लोसपा नेपाल, जनमत पार्टी, एकीकृत समाजवादी, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीका ७७ सांसदको समर्थनमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कार्णले मंसिर २१ गते मुख्यमन्त्री नियुक्त गरेका थिए । १४ दिनपछि मुख्यमन्त्री यादवले प्रदेशसभाबाट विश्वासको मतप्राप्त गरेका छन् । यसअघि तत्कालीन दुई मुख्यमन्त्रीले विश्वासको मत लिन प्रदेशसभा पुगे पनि मतदान प्रक्रियमा प्रवेश नै नगरी राजीनमा गर्न बाध्य भएका थिए । लोसपाका जितेन्द्र सोनल र एमालेका सरोजकुमार यादवले विश्वासको मत लिन प्रदेशसभा पुगेर राजीनमा गरेका थिए ।
