काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेलाई भैरहवा लैजान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुर्याइएको छ । उच्च अदालत तुलसिपुर, बुटवल इजलासले रिहा गर्न आदेश दिएसँगै कानुनी प्रक्रिया पुरा गर्न उनलाई भैरहवा लैजान लागिएको हो । उनी पहिलो उडानमा भैरहवा जान लागेका हुन् ।
आज अदालतमा बिगो रकम बुझाएर आज तारेखमा जेल मुक्त हुने तयारीमा रहेका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई बिगो बराबरको जमानत लिएर रिहा गर्न आदेश दिएपछि उनलाई आज रुपन्देही जिल्ला अदालतमा उपस्थित गराएर छोड्ने तयारी भइरहेको छ । लामिछानेलाई आवश्यक बैंक जमानत पहिले नै बुझाइसकेकाले अब प्रशासनिक प्रक्रिया मात्रै बाँकी रहेको छ ।
यसअघि लामिछानेले जिल्ला अदालतमार्फत जमानतमा छुट्न बैंक ग्यारेन्टी पेश गरेका थिए । तर जिल्ला अदालतले त्यस्तो आधारमा रिहा गर्न नमिल्ने ठहर गर्दै माग अस्वीकार गरेको थियो । जिल्ला अदालतको निर्णयपछि उनी सोही विषय लिएर उच्च अदालत पुगेका थिए । अदालतले उनलाई रिहा गर्न आदेश दिँदा चार वटा प्रमुख सर्तहरू अघि राखेको छ ।
