अमेरिकी सैन्य फौजले भेनेजुएलाको तट नजिकै ठूलो तेल ट्याङ्कर कब्जा गरेपछि दुवै देशबीचको तनाव नयाँ स्तरमा पुगेको छ। अमेरिकाकी महान्यायाधिवक्ता प्याम बन्डीका अनुसार भेनेजुएला र इरानबीचको तेल आपूर्तिबाट विदेशी आतङ्ककारी समूहलाई सहयोग पुग्ने ‘अवैध शिपिङ सञ्जाल’मा जहाज संलग्न रहेको दाबी गरिएको छ तर भेनेजुएलाले यो कदमलाई “अन्तर्राष्ट्रिय डकैती” भन्दै कडा आपत्ति जनाएको छ।
क्यारेबियनमा बढ्दो अमेरिकी सक्रियता
अमेरिकाले क्यारेबियन क्षेत्रमा ‘अपरेशन सदर्न स्पेअर’ अन्तर्गत लागुऔषध तस्करीमा संलग्न भनिएका जहाज र डुङ्गाहरूविरुद्ध आक्रमण तीव्र पारेको छ। सेप्टेम्बरयता २३ वटा जहाज नष्ट गरिएका छन् भने ८४ जनाको मृत्यु भएको छ।
ट्याङ्कर कब्जा त्यसै कारबाहीको नयाँ चरणका रूपमा हेरिएको छ।
भेनेजुएलाको सरकारी वक्तव्यमा अमेरिकाको यस्तो नीति आफ्नो “ऊर्जा स्रोत लुट्ने योजनाको हिस्सा” भएको आरोप लगाइएको छ। आन्तरिक मामिला मन्त्री डिओस्डाडो काबेयोले अमेरिकालाई “हत्यारा, चोर, डाँका” भनेका छन्।
ट्रम्पको प्रतिक्रिया
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भर्खरै “अहिलेसम्मकै सबैभन्दा ठूलो” भेनेजुएलाली ट्याङ्कर कब्जा गरिएको पुष्टि गरे। उनले घटनाका विस्तृत विवरण भने दिएनन्।ट्रम्प लामो समयदेखि राष्ट्रपति निकोलास मदुरोका तीव्र आलोचक रहेका छन्। मदुरोलाई हटाउने दिशामा काम भइरहेको संकेत पनि उनले दिएका छन्।
अमेरिकाले पछिल्ला महिनामा क्यारेबियन क्षेत्रमा युद्धपोत, लडाकू विमान, बमवर्षक, ड्रोन र जासुसी विमान परिचालन गर्दै सैन्य दबाब बढाइरहेको छ। लागुऔषध तस्करीको आरोप लगाउँदै समुद्री क्षेत्रमा कारबाही चलाइँदा ट्रम्पले अब ‘जमिनतर्फ ध्यान केन्द्रित गर्ने’ बताएका छन्, जसलाई भेनेजुएलामा सम्भावित सैन्य कदमको संकेतका रूपमा हेरिएको छ। अमेरिकाले मदुरोको पक्राउमा सहयोग गर्ने सूचनाका लागि पुरस्कार रकम पनि बढाएर ५ करोड डलर पुर्याइसकेको छ।
तेल बजारमा प्रभाव
ट्याङ्कर कब्जाको खबर सार्वजनिक भएपछि बुधवार विश्व बजारमा तेलको मूल्य केही बढेको देखियो।
