प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनसम्बन्धी तयारी र समन्वयका विषयमा सर्वपक्षीय बैठक आह्वान गरेकी छन्। बैठक शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।
माघ ११ गते राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तोकिएको अवस्थामा, प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीमा भइरहेको काम तथा आवश्यक समन्वयबारे राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायसँग संयुक्त छलफल गर्न लागेको बताइएको छ।
एक नेताका अनुसार छलफलमा नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपाका शीर्ष नेता तथा प्रतिनिधिहरूलाई बोलाइएको छ। साथै निर्वाचन आयोग र सुरक्षा निकायका अधिकारीहरू पनि सहभागी हुनेछन्। प्रधानमन्त्री कार्कीले यस प्रकारको सर्वपक्षीय बैठक पहिलो पटक आह्वान गरेकी हुन्।
