मधेस प्रदेश सभाको बैठक मन्त्रीहरूको अनुपस्थितिका कारण स्थगित गरिएको छ। बिहान साढे १० बजे सुरू भएको बैठकमा सरकारका प्रतिनिधि उपस्थित नभएपछि उपसभामुख बबिता कुमारी राउत ईशरले बैठकलाई दिउँसो २ बजेसम्मका लागि स्थगित गरेको घोषणा गरिन्।
मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयोजनका लागि बिहान ८ बजे नै प्रदेश सभा बैठक बोलाइएको थियो। सोमबार सर्वोच्च अदालतले परमादेश जारी गर्दै २४ घण्टाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने आदेश दिएको थियो। सर्वोच्चले विश्वासको मत नपाएमा संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ मुख्यमन्त्री चयन प्रक्रिया अघि बढाउन निर्देश दिएको छ।
यसअघि मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्ताव पारित भइसकेको छ। मुख्यमन्त्री यादवले दिउँसो २ बजेका लागि बैठक बोलाइदिन पत्र पठाए पनि साँझ बसेको सर्वदलीय बैठकमा बिहान साढे ८ बजे बैठक बोलाउने सहमति बनेको थियो।
१०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सदस्यको समर्थन आवश्यक हुन्छ। तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) बमोजिम सबैभन्दा ठूलो दलको आधारमा नेकपा एमालेका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्, जसले मधेस प्रदेशको राजनीतिमा तरंग ल्याएको थियो।
पछिल्लो चरणमा सरकारले उनलाई पदबाट हटाई सुरेन्द्र लाभलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो। नयाँ सरकार गठन प्रक्रिया असंवैधानिक भएको भन्दै मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो।
