प्रतिनिधि चयन अन्तिम चरणमा पुगेसँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका लागि आकांक्षी व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेकाले यसपटक ओलीलाई केही सहज भएको भए पनि पदाधिकारी व्यवस्थापन भने गाह्रो देखिएको छ।
पोखरेललाई उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे तथा सचिव गोकर्ण विष्ट र योगेश भट्टराईले समर्थन जनाएका छन्। यिनै नेताहरू इतर समूहतिर उभिएका कारण ओलीको आकांक्षी मिलाउने प्रक्रिया केही सरल देखिएको हो।
एमाले विधानअनुसार अध्यक्ष १, उपाध्यक्ष ५, उपमहासचिव १, महासचिव १ र सचिव ७ गरी १५ पदाधिकारी रहने व्यवस्था छ। यसपटक वरिष्ठ उपाध्यक्ष पद हटाइएको छ। वरीयताक्रम केन्द्रीय कमिटी बैठकले निर्धारण गर्नेछ। आकांक्षी व्यवस्थापन कठिन भइरहेकाले पदाधिकारी संख्या बढाउने सुझाव ओलीलाई दिइएका छन्।
तर महासचिव चयनमा ओलीलाई चुनौती देखिएको छ। स्रोतका अनुसार अहिलेसम्म तीन नेताले ओलीसँग महासचिव बन्ने आकांक्षा प्रस्तुत गरिसकेका छन्।
पहिलो दाबी महासचिव शंकर पोखरेलको हो। उनलाई संस्थापन समूहले उपाध्यक्षमा बढुवा गरिने चर्चा भए पनि उनले अध्यक्ष ओलीसमक्ष पुनः महासचिव बन्ने चाहना स्पष्ट रूपमा राखेका छन्। “अध्यक्षपछि सबैभन्दा कार्यकारी पद भएकाले उहाँ महासचिवमै बस्न चाहनुहुन्छ,” एक सचिवालय सदस्यले बताए।
दोस्रो आकांक्षी उपमहासचिव प्रदीप ज्ञवाली हुन्। स्कुल विभागमार्फत् देशभरका कार्यक्रम सञ्चालित गरेका ज्ञवाली पनि महासचिव पाउने आशामा छन्। तर ओलीले उनीप्रति कति विश्वास राख्छन् भन्ने विषयमा ओली समूहभित्रै मिश्रित मत छ।
तेस्रो दाबी उपमहासचिव पृथ्वीसुब्बा गुरूङको हो। पछिल्लो मन्त्रिपरिषदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका गुरूङले प्रतिनिधि चयनअघि नै संस्थापन पक्षतिर खुलेर समर्थन जनाएका थिए। केही नेताजना अनुसार, यो कदम आगामी पद सहमति जुटाउन प्रभाव जमाउने रणनीतिको रूपमा लिइएको छ।
प्रेस चौतारीको सोमबार आयोजित पत्रकार सम्मेलनमा गुरूङले खुलेर नै आफू महासचिव दाबीमा रहेको बताएका थिए। “महासचिवकै दाबी गरिरहेको छु, दाबी त गर्न पाइन्छ,” उनले भने।
स्रोतका अनुसार मंसिर १२ गते गुरूङ र उपाध्यक्ष विष्णु पौडेलबीच सहमति बनेपछि दुवैले ओलीको पक्षमा खुलेको सन्देश दिएको थियो। उनीहरूबीच पौडेलको भैंसेपाटीस्थित निवासमा भेटेर एकअर्कालाई स्वीकार गर्ने समझदारी पनि भएको बताइएको छ। सहमतिअनुसार गुरूङले अघि महासचिव प्रस्ताव गर्ने, असहमति भए पौडेलले दाबी गर्ने रणनीति बनाइएको छ।
एमालेमा पौडेल र गुरूङ दुवैका आफ्नै प्रभावक्षेत्र छन्—लुम्बिनीमा पौडेलको र गण्डकीमा गुरूङको। दुवै ओली समूहमा भए पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी तथा ईश्वर पोखरेल पक्षसँग पनि संवादमा रहेका थिए। उनीहरू ओलीसँग पार्टीभित्र सन्तुलन मिलाएर अघि बढ्ने माग राख्दै आएका छन्।
यता पोखरेल समूहभित्र पनि तीन आकांक्षी देखिन्छन्। पौडेल र गुरूङको सहमति नजुटे उनलाई आफ्नो पक्षमा ल्याउन तथा मनपर्ने पद दिलाउन चर्चा चलिरहेका छन्। उनीहरू नआए उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव गोकर्ण विष्ट र सचिव योगेश भट्टराईले महासचिवमा रुचि देखाइरहेका छन्। इतर समूहका नेताहरूका अनुसार पाण्डेले आन्तरिक रूपमा महासचिव चाहेको संकेत दिएका छन्, यद्यपि सार्वजनिक रूपमा मुख खोलेका छैनन्। पाण्डे उठे विष्ट र भट्टराई दुवैले स्वीकार गर्नुपर्ने देखिन्छ। तर सचिवमध्ये विष्ट वरीयताक्रममा माथि भएकाले पोखरेलले छान्न कठिन हुन सक्ने बुझाइ छ।
