नेपाली कम्युनिस्ट पार्टीले आज (सोमबार) कोशी प्रदेशमा एकता सन्देश सभा आयोजना गर्दैछ। प्रदेशस्तरीय सभा मोरङको विराटनगरमा हुने भएको हो। विराटनगरमा हुने कार्यक्रमलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपालले सम्बोधन गर्नेछन्। त्यस्तै नेता झलनाथ खनाल, वामदेव गौतमसहित प्रदेशका अन्य नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम छ।
कात्तिक १९ गते विभिन्न वाम घटकहरूबीच एकता भएपछि नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको थियो। त्यसपछि एकताको सन्देश देशभर पुर्याउने उद्देश्यले पार्टी शुक्रबारदेखि प्रदेश दौडाहामा लागेको छ।पहिलो दिन सुदूरपश्चिम प्रदेशको सभा धनगढीमा सम्पन्न भयो। शनिबार लुम्बिनी प्रदेशको कार्यक्रम दाङको लमहीमा भयो भने आइतबार गण्डकी प्रदेशस्तरीय सन्देश सभा पोखरामा आयोजित गरिएको थियो। यसपछि मंसिर १६ गते उपत्यका विशेष प्रदेश, १८ गते कर्णाली, २० गते मेधस, २१ गते प्रवास, २२ गते संघीय सम्पर्क समन्वय प्रदेश र २३ गते बागमती प्रदेशमा क्रमशः सन्देश सभा हुने कार्यक्रम छ।
