नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्ने भएको छ। महाधिवेशनसम्बन्धी विवादका कारण पटक–पटक स्थगित हुँदै आएको बैठक आइतबार बस्ने भनिए पनि फेरि सारिँदै सोमबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन्।
यता, कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको माग फिर्ता भए पुसमै नियमित महाधिवेशन गर्न तयार भएको जनाएको छ। आइतबार बिहान सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई असोज २९ गते २,४८८ महाधिवेशन प्रतिनिधिहरूले बुझाएको विशेष महाधिवेशन माग सम्बन्धी हस्ताक्षर फिर्ता भए मात्र सहमति हुने बताएका हुन्।
भेटवार्तामा सभापति देउवाले पुसमा १५औँ महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउने आश्वासन दिएका थिए। त्यसप्रतिक्रिया स्वरूप केन्द्रीय सदस्यहरूले आफूहरू निर्वाचनअघि नै नियमित महाधिवेशनमा जान तयार रहे पनि विशेष महाधिवेशनका लागि बुझाइएको हस्ताक्षर फिर्ता हुनुपर्ने सर्त राखेका थिए।
