काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूहरुले चुनाव जित्नको लागि तत्काल एकता नगरेको दाबी गरेका छन् । भीम रावल र प्रमोद नारायण यादवलाई नेकपामा स्वागत गर्दै दाहालले यस्तो बताएका हुन् । उनले मुलुक यतिवेला असाध्यै ठूलो संकटमा परेको स्मरण गराए ।
उनले भने,‘हाम्रो देश इतिहासमा यति संकटमा देश सायदै परेको थियो, मैले भन्ने गरेको छु, सुगौली सन्धियताको स्थिति हेर्ने हो भने देश अहिले असाधारण संकटमा छ । यो एकता कुनै ट्याक्टिल होईन, यो तत्काल गरिहालौं न चुनाव जित्नको लागि भनेर गरिएको एकतापनि होईन । त्यसरी नबुझियोस । यो एकता राष्ट्र बचाउनुपर्ने आवश्यकता आईपर्यो, राष्ट्र बचाउनैपर्ने ऐतिहासिक वस्तुगत कारणले यो एकता गरिएको हो ।’
जेनजी आन्दोलनको क्रममा उठाईएका विषय र उनीहरुको आवाजले नेपाललाई झक्झकाएको दाहालले स्मरण गराए । जेनजी आन्दोलनले आफूहरुको गल्तीपनि देखाईदिएको उनको दाबी छ । उनले भने,‘यदि जेनजी आन्दोलनले त्यो तिव्रताका साथ सुशासनको पक्षमा आवाज नउठाएको भए यो एकता यति छिटो र तिव्रताका साथ हुने थिएन होला ।’
दाहालले नेकपाकालिन एकताको पनि स्मरण गराए । उनले नेकपाकालमा दुईजना अध्यक्ष भएपनि आफू नामको मात्रै अध्यक्ष भएको र कामको अध्यक्ष नभएको सुनाए । उनले भने,‘यो त्यही हल हो, जुन हलमा पहिलोपटक अध्यक्षको हैसियतले बैठक चलाउन पाएको थिएँ, त्यो बैठक त्यस्तो बैठक हुन गयो, मैले अध्यक्षको हैसियतले कार्यकारी भूमिकाले बैठक सञ्चालन गरेको थिएँ, उद्घाटन र समापनको दिनबाहेक केपी ओली आउनुभएको थिएन, आज यो एकता प्रक्रियालाई सम्बोधन गर्दै मैले त्यो दिन झलझली सम्झिएको थिएँ, त्यो बैठकमा सबैको अनुहार उज्यालो बनाएर हिँडेको थियौं । सबैले मलाई बधाई दिएको सम्झिरहेको छु ।
त्यो बैठक ऐतिहासिक थियो । तर, अवसरवादी र अहंकारीको लागि त्यो बैठक डरलाग्दो हुन पुग्यो, बैठकबाट निस्किएर अब पार्टी कसरी फुटाउन सकिन्छ भनेर गुटबन्दी गर्न सुरु भएको थियो ।’
