काठमाडौं । नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आपराधिक मनोवृत्ति भएकाहरुले राष्ट्रिय झण्डा ओढेर विध्वंस मच्चाएका बताएका छन् । आज ९सोमबार० एमालेद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अब राष्ट्रिय झण्डाको आवरणमा कसैले पनि अपराध गर्न नपाउने बताएका हुन् । यस्ताखाले अपराध रोक्नका लागि एमालेले टोल–टोलमा सुरक्षा दस्ता गठन गर्ने ओलीले बताए ।
‘राष्ट्रिय झण्डा ओढ्ने चलन अगाडिदेखि सुरु गरेका थिए । जो राष्ट्रिय होइन, त्यसले राष्ट्रिय झण्डा ओढ्ने, जो अपराधिक मनोवृत्तिको छ, त्यसले राष्ट्रिय झण्डा ओढ्ने चलन चलाएर जनतालाई भ्रम पारेकै थिए पहिलादेखि । अब राष्ट्रिय झण्डा ओढेर त्यो गर्न सक्दैनन् । अब नेकपा ९एमाले० ले टोल–टोलमा सुरक्षा दस्ता गठन गर्छ । युवा स्वयमसेवक फोर्स गठनको प्रारम्भ भएको छ,’– उनले भने ।
अध्यक्ष ओलीले देश बचाउन, लोकतन्त्र जोगाउन, संविधानको रक्षा गर्न र अनधिकृत रुपमा असंवैधानिक ढंगले विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्न आफूहरु लागिरहेको बताए । उनले अहिले देशमा सुरक्षा व्यवस्था एकदमै कमजोर रहेको पनि टिप्पणी गरे । कोही पनि महिलाहरु अहिले सडकमा सिक्री लगाएर निस्किन सक्ने अवस्था नरहेको उनको भनाइ छ । ‘आजकाल महिलाहरु सिक्री लगाएर सडकमा निस्किन छोडे । निस्किसक्नु भए पो । सिक्री लगाएर निस्कियो कि त कहाँ खोस्छ, खोस्न सकेन भने हिर्काइदिन्छ । यस्तो खालको स्थिति छ,’– उनले भने ।
