काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । महासंघद्वारा शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २।० लाई सम्बोधन गर्दै उनले आगजनी, तोडफोड लुटपाटमा संलग्नहरुलाई कडाभन्दा कडा कारबाही नभए दण्डहीनता मौलाउने बताएका हुन् ।
अध्यक्ष ढकालले विभिन्न पेसा व्यवसाय गरी खाने वर्गले सुरक्षित रुपमा काम गर्न पाउने अधिकारको सुनिश्चितता गर्न माग गरे । उनले नाफा आर्जन गर्नु नै अपराधको रुपमा चित्रित हुनु दुःखद् भएको बताए । युवा पुस्ताको आन्दोलन र मागबमोजिम मुलुकमा भ्रष्टाचार न्यूनीकरण गरी शुसासन कायम गर्ने प्रयत्नमा सरकार लागेको छ । निजी क्षेत्र पनि खरानी टक्टक्याउँदै जुर्मुराउन खोजिरहेको छ’, ढकालले भने, ‘हरेक आन्दोलन वा प्रदर्शनमा निजी क्षेत्रमाथि प्रहार हुने गरेको विदितै छ । तर, निजी क्षेत्र विगतका आन्दोलनहरू भन्दा यसपटक बढी आहत भएको छ ।’
जोहो गरेर, सरसापट गरेर, ऋण काढेर उद्यमीले लगानी गर्ने गरेको, राजश्वमा योगदान पुर्याएर रोजगारीको अवसर सिर्जना गरे पनि उद्यमी व्यवसायीका शयन कक्षसम्म लुटपाट भएको उनको भनाइ छ । ‘व्यापार व्यवसायमा आगो लागेको छ । यो घटनाले सबैले आफैंले आफैंलाई फर्केर हेर्न पनि बाध्य पारेको छ । हामी पनि समीक्षा गर्दैछौं, हामी कहाँ चुक्यौं’, ढकालले भने, ‘अनि समाज कहाँ चुक्यो । हामी कहाँ नाफा आर्जन गर्नु नै अपराधको रुपमा चित्रित हुँदै आएको छ । तर, व्यवसायको उद्देश्य सेवा दिएर नाफा कमाउनु हो । यही फरक बुझाइका कारण निजी क्षेत्रमा प्रहार हुने गरेको छ ।’
