काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का महासचिव नेत्रविक्रम चन्दले निर्वाचनको वातावरण बनिनसकेको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगमा दल दर्ताका लागि केन्द्रीय सदस्यहरूको हस्ताक्षर गर्न पुगेका उनले पत्रकारहरूसँग प्रतिक्रिया दिँदै अहिलेसम्म निर्वाचनको वातावरण बन्न नसकेको बताएका हुन् ।
महासचिव विप्लवले मुलुकमा एक दिन निर्वाचन हुने उल्लेख गर्दै त्यसमा भाग लिएर आफूले देश र जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले निर्वाचनलाई क्रान्ति, संघर्षको एउटा नयाँ मोर्चाको रूपमा आफ्नो पार्टीले लिएको र जनताले दिएको सुझावको आधारमा नै आफूहरूले निर्वाचनमा भाग लिने निर्णय लिएको जिकिर गरे ।
विप्लवले भने,‘निर्वाचन विद्रोहकै निरन्तरता हो । हामी संसदीय व्यवस्थालाई पूरै स्वीकार गरेर होइन कि यो क्रान्तिकै संघर्षकै एउटा नयाँ मोर्चाको रूपमा हामीले जनताको पक्षमा यसलाई प्रयोग गर्दछौँ । पार्टीभन्दा बाहेक बाहिर अरू साधन छैन हामीसँग जनताको सेवा गर्ने र देशको सेवा गर्ने । यो नयाँ पार्टी हो । र जनताको सल्लाह अनुसार नै यो कदम चालिएको छ ।’
कम्युनिष्ट पार्टी एकताको बहस जारी रहेको भन्दै उनले नेपालमा कम्युनिस्टहरूलाई नयाँ ढंगले नयाँ केन्द्रमा एकीकृत गर्ने प्रस्ताव आफूहरूको रहेको बताए । उनले अगाडि भने, ‘नेकपाले अहिलेसम्म देशलाई र जनतालाई क्षति हुने कुनै पनि काम गरेको छैन । र गर्न पनि दिएको छैन । यसका लागि लड्दै आएको छ । र जनताको सुझावअनुसार नै जनताले आफ्नो अधिकार चाहन्छन् । देशले स्वाधिनता चाहन्छ, नेपाल पुस्ताले एउटा परिवर्तनसहितको जीवन चाहन्छ । त्यसका लागि हामी संघर्षरत रहन्छौं।’
‘जेनजीलाई हाम्रो समर्थन र प्रेरणा थियो । निर्वाचनमा गएर सिंगै देशलाई बदल्ने । तपाईंहरूकै साथ लिने हो । जति पनि नकारात्मक र दुखद् परिणामहरू छन् । त्यसको शिक्षासहित हामीले देशलाई अपिल पनि गरेका छौँ,’ उनले भने ।
