काठमाण्डौं । सामाजिक सुरक्षा कोषले हालसम्म९४ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको जनाएको छ। यो तथ्यांक२०७६ साउन १ गतेदेखि२०८२ कात्तिक १७ गतेसम्मको हो। सामाजिक सुरक्षा कोषका सूचना अधिकारी रोशन कोजुका अनुसार कोषमा सुरुदेखि हालसम्म ९४ अर्ब ३४ करोड १३ लाख ८० हजारतीन सय रुपैयाँ जम्मा भइसकेको छ। कोषमा जम्मा रकममध्येबाट हालसम्म १७ अर्ब ३२ करोड ५५ लाख २७ हजार रुपैयाँ बचतकर्तालाई दाबी भुक्तानी गरेको समेत उनले बताए।
सरकारले २०७५ साल मंसिर ११ गतेदेखि सामाजिक सुरक्षा कोष स्थापना गरिएको हो। यस कोषमा औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गरिरहेका श्रमिक आबद्ध हुन सक्ने प्रबन्ध गरिएको छ। विशेष गरी सरकारले बैंक, सरकारी जागिर तथा अन्य ठूला कम्पनीमा काम गर्ने श्रमिकका लागि भन्दा पनि उद्योग धन्दा, इटा भट्टा, गार्मेन्ट लगायतका क्षेत्रमा काम गर्ने श्रमिकका लागि ल्याएको कार्यक्रम हो।
बैंक तथा वित्तीय संस्था,अन्य विभिन्न कम्पनी लगायत सबै कम्पनी तथा मजदुरले यस कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने सामाजिक सुरक्षा कोष कार्यविधिमा उल्लेख छ। सो कोषमा श्रमिकले बैंक खातामा आफ्नो मासिकआम्दानीको ११ प्रतिशत रकम जम्मा गर्नुपर्छ भने रोजगार दाताले २० प्रतिशत थपेर कुल २१ प्रतिशत रकम प्रति महिना श्रमिकको खातामा संकलन हुन्छ।
सामाजिक सुरक्षा कोषले पनि सञ्चय कोष तथा नागरिक लगानी कोषले जस्तै विभिन्न सेवा उपलब्ध गराउँदै आएको छ। योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत चार वटा सुविधा उपलब्ध गराउँदै आएको छ। जसमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाको सुविधा, दुर्घटना र अशक्तता सुरक्षाको सुविधा, आश्रित परिवार सुरक्षाको सुविधा तथा वृद्धावस्था सुरक्षाको सुविधा लगायतका व्यवस्था रहेका छन्।
सरकारले विशेष गरी श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न तथा रोजगारदातालाई सामाजिक सुरक्षा प्रदान गर्न योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याएको हो। यस कोषको मुख्य उद्येश्य भनेकै आम श्रमिकलाई सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु हो।
सरकारले सामाजिक सुरक्षा कोष नियमावली, २०६७ बमोजिम कोषको स्थापना गरेको थियो। योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ तर्जुमा भई कार्यान्वयन भएपश्चात् हाल सोही ऐनबमोजिम कोषका गतिविधि सञ्चालन भइरहेका छन्। त्यस्तै सामाजिक सुरक्षा कार्यविधि २०७५ अनुसार कोषले यसमा रहेका व्यवस्थाहरुको कार्यान्वयन गरिरहेको छ। कोषमा हालसम्म २५ लाख ९८हजार ६ सय ३६ जना सूचीकृत योगदानकर्ताका समावेश भएका छन् भने कोषमा २२ हजार एक सय ४८ जना सूचीकृत रोजगारदाता रहेका छन्।
कोषमा औषधी उपचार, स्वास्थ्य तथा मातृत्वमा दाबी भुक्तानी रकम दुई अर्ब ६४ करोड ५६ लाख ५६ हजार एक सय २१ रुपैयाँ रहेको छ भने दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवार सुरक्षामा दावी भुक्तानी रकम पाँच अर्ब ८४ करोड ७५ लाख ४६ हजार सात सय ५७ रुपैयाँ रहेको छ।
यसैगरी वृद्ध अवस्था सुरक्षामा ७५ अर्ब ४१ करोड ९१ लाख ९३ हजार नौ सय ६४ रुपैयाँ दावी भुक्तानी रकम रहेकोमा अतिरिक्तमा एक अर्ब ६१ करोड ७९ लाख ४५ हजार तीन सय १९ रुपैयाँ दावी भुक्तानी रकम रहेको छ भने प्रतिफल दाबी भुक्तानी रकम आठ अर्ब ८१ करोड १० लाख ३८ हजार एक सय ३९ रुपैयाँ रहेको सामाजिक सुरक्षा कोषले जनाएको छ।
सामाजिक सुरक्षा कोषका सूचना अधिकारी कोजुका अनुसार पछिल्लो समय निजी क्षेत्र पनि कोषमा आवद्ध हुन आइरहेका छन्। उनले संघ, संस्था र कलेजलगायतका निजी क्षेत्र पनि कोषमा आवद्ध हुन लागेको बताए। उनले भने, ‘पहिला यस विषयमाबुझ्नबुझाउनै पनिगारो भयो । हामीले सेवा सुविधाकाकामहरू गर्यो। त्यसबाट नागरिकहरू प्रभावित भए कोषले गर्ने काम यस्तो पो रहेछ भन्दै बुझेर अहिले आवद्ध हुन आउँछन्।’
उनले एक हजार कर्मचारी भएका संघसंस्थाहरू अहिले आफूहरूसँग आवद्ध हुन आइरहेको बताउँदै उनले मझौलाखालका संस्थाहरू पनि आवद्ध हुने आइरहेको बताए। पहिलाको तुलनामा अहिले आवद्ध हुनेको संख्या राम्रो रहेको उनको भनाइ छ। आफूहरूको योजनालाई हरेक प्रतिष्ठानमा पुर्याउनुका साथै जनचेतना फैलाउने काम समेत गरिरहेको उनले बताए। सामाजिक सुरक्षाका विषयमा सरोकारवालासँग पनि बेलाबेलामा छलफल गरिरहेको उनले बताए।
