काठमाण्डौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले महाधिवेशन तत्काल गर्नुपर्ने बताएका छन्। काठमाडौंका जिल्ला सभापति तथा पूर्व जिल्ला सभापतिहरूसँगको अनौपचारिक छलफलमा उनले यस्तो कुरा बताएका हुन्। उनले भनेका छन्, ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने विषयमा धेरै पहिलेदेखि नै भन्दै आएको छु। अहिलेको समयको चाप, अवस्था आदिका कारण यदि २०८२ मंसिर मसान्तमा गर्न सकिएन भने कुनै पनि हालतमा २०८२ पुस मसान्तसम्म गरिसक्नुपर्छ।’
नेता कोइरालाले आउँदो आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वमा चुनावमा जानुपर्ने कुरामा जोड दिएका छन्। पुस मसान्तसम्मको तालिका बनाउँदा निर्वाचन आयोगको निर्वाचनले प्रकाशित गरेको तालिकासँग नबाझिने गरी बनाउनुपर्ने उनको तर्क छ।
उनले अगाडि भने, ‘नेपाली कांग्रेस अहिले एकताबद्ध, गम्भीर, जिम्मेवार, संयम भई अघि बढ्नुपर्छ र पार्टीसँग सम्बद्ध सबैले राष्ट्र, जनता र लोकतन्त्रलाई प्राथमिकतामा राख्नुपर्छ। विगतमा पार्टीले थुप्रै आरोह(अवरोह ब्यहोराकोले आगामी दिनमा एकता नै बल हो भन्ने भावनाअनुसार एक हुनै पर्छ र कसैले पनि मेरो गोरुको बाह्रै टक्का भन्ने सोच राख्नु हुन्न।’
उनले पार्टीमा एकता, मेलमिलाप आवश्यक भएको उल्लेख गरे। गुट, उपगुट र फुटको अन्त्य गर्दै कोही कसैप्रति आग्रह–पूर्वाग्रह नराखी अघि बढ्नुपर्ने आजको आवश्यकता भएको ठहर उनको छ। अहिले पार्टीका कार्यकर्ता मात्रै नभएर बाह्य सबै पक्षले पनि नेपाली कांग्रेसको निर्णय हेरिरहेको उनको भनाइ थियो।
