महेन्द्रनगर। हमासको आक्रमणमा परी ज्यान गुमाएका विपीन जोशीको राष्ट्रिय सम्मानका साथ महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ। बिहान ८ बजे विपीनको निवास ( भीमदत्त नगरपालिका ) बाट शवयात्रा निकालेर महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिअघि विपीनलाई शसत्र प्रहरीले शलामी अर्पण गरेका थिए ।
विपीनको शवयात्रामा नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका तीन जना इजरायली प्रतिनिधिको टोली, आफन्तजन र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो। इजरायलले सोमबार स –सम्मानका साथ विपीनको शव नेपाललाई हस्तान्तरण गरेको थियो । इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ । नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति ( रासस) का अनुसार इजरायलले पठाएको फरेन्सिक परीक्षण रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख छ ।
तिहारको बेला विपिनको शव घर आइपुग्दा सन्नाटा छाएको छ । ‘बहिनी पुष्पा यसपाली भाइटीकामा दाजुसित भेट हुने आशामा थिइन्,’ परिवारका सदस्य किशोर जोशीले भने, ‘लक्ष्मीपूजाका दिन विपिनको शव आँगनमा आइपुग्दा परिवार शोकमा डुबेको छ ।’ बहिनी पुष्पाले दाइको निधनको खबरले आधिकारिकता पाएपछि घरमा तिहारका लागि तयार पारिएका सयपत्री फूल उखेलेकी जोशी परिवारको भनाइ छ ।
