चितवन । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का संयोजन पुष्पकमल दाहालले हालैको ‘जेनजी’ आन्दोलनले उठाएका मागहरू माओवादीकै एजेन्डा भएको बताएका छन्। बिहीबार बिहान चितवनको भरतपुर कृष्णपुरस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित भेटघाट तथा सम्बोधन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
दाहालले तत्कालीन सरकारको गम्भीर सुरक्षा लापरवाहीका कारण आन्दोलन हिंसात्मक बनेको आरोप लगाए। साथै, अब देशमा निर्वाचनको विकल्प नभएको स्पष्ट पारे।सम्बोधन कार्यक्रममा दाहालले जे(जी आन्दोलन, सरकारको भूमिका, वामपन्थी एकता र आगामी निर्वाचनबारे पार्टीको धारणा स्पष्ट पारे। ‘युवाहरूले उठाएका मागहरू हाम्रो आन्दोलनसँग अभिन्न छन्,’ उनले भने, ‘हाम्रो पार्टीले आरम्भदेखि उठाउँदै आएको भ्रष्टाचारविरोधी अभियान अहिलेको जेनेरेसन जेडको स्वर बनेर प्रस्तुत हुनु गौरवको कुरा हो।’
असोज २३ गते राजधानीमा भएको आन्दोलनमा देखिएको गम्भीर सुरक्षा लापरवाही नै घटनाको मुख्य कारण भएको ठहर गर्दै अध्यक्ष दाहालले तत्कालीन सरकार प्रमुखको भूमिकाको आलोचना गरे। युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण थियो, तर सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलता नदेखाएकाले स्थिति हिंसात्मक बन्यो,’ उनले भने, ‘गोली हान्दा कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित गरिनु अन्तर्राष्ट्रिय रूपमा नै लज्जास्पद विषय बन्यो।’
उनले घटनालगत्तै माओवादी केन्द्रले आकस्मिक बैठक बसेर मृतकलाई सहिद घोषणा, उच्चस्तरीय छानबिन आयोग गठन र प्रधानमन्त्रीको राजीनामाको मागसहित आधिकारिक निर्णय सार्वजनिक गर्ने पहिलो पार्टी बनेको स्मरण गराए। २४ गते सिंहदरबारमा सुरक्षा जोखिम बढेपछि आफूहरू कसैको नियन्त्रणमा नगई सेनाको समन्वयमा सुरक्षित रहेको समेत उनले स्पष्ट पारे। दाहालले देशको वर्तमान राजनीतिक अवस्थाले निर्वाचनबाहेक अर्को उत्तम विकल्प नदिएको सुनाए।
‘राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलहरू र अन्तर्राष्ट्रिय समुदायसमेत अब निर्वाचन नै प्राथमिकता हो भन्ने निष्कर्षमा पुगेका छन्,’ उनले भने, ‘संसद पुनःस्थापनाको एजेन्डा अब गौण बनिसक्यो। एमाले बाहेकका सबै दलहरू निर्वाचनमा जान सहमत छन् र एमालेभित्र पनि बहुमत चुनावकै पक्षमा छ।’ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले भने, ‘उहाँको कारण यति धेरै जनधनको क्षति भयो, तर आजसम्म कुनै पश्चाताप छैन।’ कार्यक्रमअघि उनले देवघाटसम्म ‘मर्निङ वाक’ गर्दै स्थानीयसँग जनसम्पर्क समेत गरेका थिए।
