काठमाण्डौं । इन्दु बर्माको कप्तानी इनिङ्ससँगै नेपालले टी–२० सिरिजमा मलेसियालाई ६ विकेटले पराजित गरेको छ। योसँगै ५ खेलको सिरिज २–२ को बराबरीमा पुगेको छ। यसअघि मलेसियाले ३ विकेट र १३ रनको जित हात पारेको थियो। नेपालले भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो। आयोजक राष्ट्र मलेसियाविरुद्धको चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय महिला टोलीले जीत हासिल गरेको छ । नेपालले मलेसियालाई ६ विकेटले हराएको हो ।
नेपाली टोलीको जीतसँगै पाँच खेलको शृंखला २र२ को बराबरीमा पुगेको छ । पहिलो खेलमा मलेसिया तीन रनले विजयी भएको थियो । दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । शृंखलाको तेस्रो खेलमा मलेसियाले नेपाललाई १३ रनले पराजित गरेको थियो । शृंखलाको पाँचौं तथा अन्तिम खेल बुधबार हुनेछ । चौथो खेलमा टस जिरेर ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ११ रनको योगफल तयार पारेको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १७।३ ओभरमा केवल चार विकेट गुमाएर एक सय १५ रन बनाउँदै विजय लक्ष्य पार गर्यो । नेपालको जीतमा कप्तान इन्दु वर्माले अविजित ४८ रनको योगदान गरिन् । उनले केवल ३९ बलको सामना गरी ६ वटा चौका पनि प्रहार गरिन् । रुविना क्षेत्रीले पनि टोलीका लागि अविजित २३ रनको योगदान गरिन् । उनले २३ बलमा एक छक्का र दुई चौका प्रहार गरिन् । कविता कुँवरले १६ र सम्झना खड्काले ११ रन बनाइन् ।
त्यसअघि, माथिल्लो क्रममा तीनवटै ब्याटरलाई सस्तैमा गुमाएको मलेसियाका लागि चौथो नम्बरमा क्रिज समाल्न आएकी मस एलिसाले उत्कृष्ट अर्धशतकीय पाली खेलिन् । एलिसाले अविजित ५६ रन बनाइन् । यस क्रममा उनले ६३ बलको सामना गरी पाँच चौका पनि हिर्काइन् । माहिरा इजाती इस्माइलले टोलीको खातामा १८ रन थपिन् । नुर दानिया सुहादाले पनि १५ रन बटुलिन् । मलेसियाका दुवै ओपनर ब्याटर खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । मलेसियाले अतिरिक्त रूपमा पनि १७ रन पायो । नेपाली टोलीका बलर कविता कुँवरले तीन विकेट हात पारिन् । उनले चार ओभरमा केवल १० रन खर्चिएकी थिइन् । पूजा महतो र कविता जोशीले पनि एकरएक विकेट हात पारेका थिए ।
