काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा अहिले बिहान साढे ११ बजे बस्ने बैठकमा बाढीपहिरोबाट आइपरेको विपत्तीका विषयमा छलफल हुनेछ । प्रधानमन्त्री कार्यालयमा बस्न लागेको बैठकमा छलफलका लागि पीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक सञ्चालन गर्ने लगायतका ९ एजेण्डा तय गरिएको छ ।
बैठकमा विपदमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सडक तथा अत्यावश्यक सेवा सुरुचारु गर्ने, राहत वितरण गर्ने, मृतक र बेपत्ताका परिवारलाई कानुन बमोजिम राहत उपल्ब्ध गराउने विपद पश्चात फैलिन सक्ने महामारीजन्य रोग व्यवस्थापन गर्ने, अस्थायी आवास निर्माण गर्ने लगायतका एजेण्डामा छलफल तथा निर्णय गर्ने तयारी छ ।
असोज १७, १८ र १९ गतेको मौसमी प्रणालीका कारण भारी वर्षासँगै आएको बाढी पहिरोले ६० जनाको निधन भइसकेको छ ।बाढीपहिरोबाट बाटाघाटा, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनामा करोडौंको क्षति पुगेको छ । सबैभन्दा धेरै मानविय क्षति इलाममा भएको छ ।
