काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि पर्न सुरु भएको अविरल वर्षाका कारण पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला र मुग्लिन–नागढुंगा सडकखण्डको जवाङ खोलामा दुईतर्फी बाटो अवरुद्ध भएको हो ।
यी दुवै ठाउँमा यसअघि पनि पटक–पटक पहिरो खसेर बाटो अवरुद्ध हुँदै आएको थियो । सडक डिभिजन कार्यालय चितवनका अनुसार पहिरो खस्नेक्रम जारी नै रहेको छ। जसका कारण पहिरो हटाउन सकिएको छैन। पहिरो झर्न रोकिएपछि हटाउने कार्य सुरु गरिने छ।
हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायुको) प्रभाव रहेका कारण विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । अविरल वर्षा र त्यसपछि आएको बाढी–पहिरोका कारण देशैभर मुख्य राजमार्ग प्रभावित बन्न सुरु भएका छन् ।
