काठमाडौं, २ असोज । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भिडिओ कन्फरेन्स भएको छ । दुई देशका प्रधानमन्त्रीबीच अहिले केहीबेर अघिमात्रै भिडिओ कन्फरेन्स सकिएको हो । उनीहरुबीच करिब २० मिनेट कुराकानी भएको जनाईएको छ । यसअघि मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
त्यही भेटवार्तामा दुई देशका प्रधानमन्त्रीबीच आज भिडिओ कन्फरेन्सको तय भएको थियो । प्रधानमन्त्री कार्कीलाई मोदीले यसअघि नै बधाई तथा सफल कार्यकालको लगि शुभकामना प्रदान गरेका छन् । उनले मणिपुरको एक सभामा सम्बोधन गर्दापनि प्रधानमन्त्री कार्कीलाई सफलताको शुभकामना दिएका थिए ।
प्रधानमन्त्रीमा नियुक्त भएकै दिन भारतीय विदेश मन्त्रालयले अन्तरिम सरकारको स्वागत गरेको थियो । प्रधानमन्त्री कार्कीसँग आजै नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले पनि भेटवार्ता गर्ने तयारी गरेका छन् । त्यसको लागि समय व्यवस्थापन भैसकेको जनाईएको छ ।
