काठमाडौं, २ असोज । शेयर बजारमा तेस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ । भदौ २३ र २४ गतेको विध्वंसात्मक प्रदर्शनपछि खुलेको शेयर बजार पहिलो पटक सर्किट ब्रेक लागेपछि २० मिनेटको लागि बन्द भएको थियो ।
दोस्रो पटक नेगेटिभ सर्किट ब्रेक लागेसँगै ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो । कारोबार खुलेको २ मिनेटमा नै नेप्से परिसूचक ४ अंकले घटेर पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि २० मिनेट बन्द भएर खुलेको बजारमा दोस्रो सर्किट ब्रेक लागेको थियो । त्यसपछि खुलेको बजारमा ५ प्रतिशत घटेको थियो ।
दोस्रो नेगेटिभ सर्किट ब्रेकपछि ४० मिनेट कारोबार रोकिएर खुलेको शेयर बजार पुनः ६ प्रतिशतले घटेर तेस्रो सर्किट लागेको हो । यस अवधिमा नेप्से १६०.३३ अंकले घटेर २ हजार ५११ दशमलव ९१ विन्दुमा झरेको छ ।
कारोबार खुलेको पहिलो एक घण्टाभित्र नेप्से परिसूचक ४ प्रतिशतले घटेमा वा बढेमा पहिलो सर्किट लाग्ने व्यवस्था रहेको छ । त्यस्तो अवस्थामा बजार २० मिनेटका लागि बन्द हुन्छ । त्यसपछि कारोबार खुलेको दोस्रो घण्टाभित्र ५ प्रतिशतले घटेमा वा बढेमा ४० मिनेटका लागि कारोबार रोकिने र ६ प्रतिशत घटेमा वा बढेर सो दिनको कारोबार बन्द हुने व्यवस्था रहेको छ ।
