काठमाडौ । एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा श्रीलंकाले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ। सोमबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा श्रीलंकाले हङकङलाई चार विकेटले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४९ रनको प्रतिस्पर्धात्मक योगफल खडा गर्यो । जवाफमा श्रीलंकाले १८.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै जित दर्ता गर्यो ।
हङकङका कप्तान निजाकत खानले सानदार अर्धशतकीय प्रदर्शन गरे। उनले ५२ रन बनाए भने अन्सु रथले ४८ रनको योगदान दिए। जिसान अलीले २३ रन बनाएर टोलीलाई सम्मानजनक स्कोरमा पुर्याउन मद्दत गरे। श्रीलंकाका बलरमध्ये दुस्मन्था चमीरा सबैभन्दा सफल रहे, जसले दुई विकेट लिए। वनिन्दु हसरंगा र दुसान सनाकाले समान रूपमा एक–एक विकेट लिए।
१५० रनको लक्ष्य पछ्याएको श्रीलंकाका लागि पथुम निसांका चम्किए। उनले ४४ बलमा ४ चौका र २ छक्कासहित ६८ रन बनाए। कुशल परेरा र वनिन्दु हसरंगाले समान २०–२० रनको योगदान दिए। कामिल मिसाराले १९ तथा कुशल मेन्डिसले ११ रन बनाए। हङकङका यासिम मुर्तजाले २ विकेट लिए भने आयुश शुक्ला, एसाना खान र आइजाज खानले एक–एक विकेट लिए।
यो जितसँगै श्रीलंकाले दुई खेलमा दुई जितसहित ४ अंक जोडेको छ र समूह ‘बी’बाट सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। उता, तीन खेल खेलिसकेको हङकङ अंकविहीन रहेको छ र समूहको पुछारमा रहेको छ।