काठमाण्डौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले भदौ २४ गते भएको आगजनी र तोडफोडबाट नेपाल प्रहरीका क्षतिग्रस्त संरचनाहरूको निरीक्षण गरेकी छन्।शनिबार उनले प्रहरी प्रभाग कोटेश्वर, प्रहरी वृत्त महाराजगन्जको निरीक्षण गरेकी हुन्।शनिबारै उनले भदौ २३ गते भएको आन्दोलन क्रममा घाइते भई ट्रमा सेन्टर र सिभिल अस्पतालमा उपचाररत बिरामीहरूलाई पनि भेटिन्।
दुई दिनको प्रदर्शनमा तीन जना प्रहरीले ज्यान गुमाएका छन् र कयौं घाइते छने। काठमाडौं उपत्यकाका अधिकांश प्रहरी वृत्तहरूमा आगजनी र तोडफोड गरिएको छ। काठमाडौंको जिल्ला प्रहरी परिसर बाहेक अन्य वृत्तहरूमा धेरै ठूलो क्षति पुगेको छ। क्षतिले प्रहरीको मनोबल घटेको अवस्था छ। घाइते भएको, बस्ने ठाउँको उपयुक्त स्थान नभएको, पोसाक र हतियार चोरिएको जस्ता कारणले प्रहरीको मनोबल घटेको हो। यो कुरा बुझेर प्रधानमन्त्री कार्की शनिबार नेपाल प्रहरीको क्षतिग्रस्त संरचना निरीक्षण गएको प्रधानमन्त्री निकट स्रोतले बतायो।
ुयसपालिको घटनापछि उहाँहरूको मनोबल साह्रै नै घटेको भनेर प्रधानमन्त्रीजी जानुभएको हो, स्रोतले भन्यो। निरीक्षण क्रममा प्रहरीसँग उनले घटनामा संलग्न व्यक्तिहरूबारे ब्रिफिङ समेत लिएकी थिइन्। ुप्रहरीबाट मुख्यगरी सुकुम्बासी टोलका, कैदीबन्दीहरू, हिरासतका थुनुवाहरू भागिसकेपछि धेरै क्षति भएको ब्रिफिङ भएको छ,ु स्रोतले भन्यो। शुक्रबार मात्रै प्रहरीले यसरी संरचनामा आगजनी तथा तोडफोड, लुटपाट, कुटपिट लगायतमा संलग्न व्यक्तिहरूको तस्बिर, भिडिओ माग गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पनि अनुसन्धान गरिरहेको छ।
निरीक्षण क्रममा प्रधानमन्त्री कार्कीले घटनामा संलग्न जोकोहीलाई कडा कारबाही गर्न निर्देशन समेत दिएकी छन्।प्रधानमन्त्री कार्कीसँगै प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ र एआइजी दानबहादुर कार्की लगायत उच्च पदस्थ प्रहरी अधिकारीहरू निरीक्षणमा गएका थिए। प्रहरी स्रोतका अनुसार भदौ २४ गते प्रहरीतर्फ धेरै क्षति हुनुको एक कारण बल प्रयोग गर्न आदेश प्राप्त नभएकाले पनि हो। भदौ २३ गते माइतीघरदेखि बानेश्वरसम्म भएको आन्दोलन भड्किएर संसद भवनतर्फ अघि बढेको थियो। प्रदर्शनकारीहरू संसद भवनमाथि चढ्न थालेपछि प्रहरीले गोली प्रहार गर्यो र डेढ दर्जन युवाको मृत्यु भयो।
यसपछि प्रहरीको ठूलो आलोचना भयो। गृहमन्त्री रमेश लेखकले राजीनामा समेत दिए। भोलिपल्ट भदौ २४ गते, थप मानवीय क्षति हुनसक्ने भन्दै प्रहरीलाई गोली चलाउन आदेश नदिइएको प्रहरी स्रोतले बतायो। प्रहरीले सकेसम्म बल प्रयोग नगर्ने, गर्नै परे पनि गोली चाहिँ नचलाउने भन्ने आदेश तलका अधिकारीसम्म दिइएको थियो। त्यस्तै, भौतिक संरचना जोगाउन नसकेको अवस्थामा हतियार जोगाएर हिँड्ने भन्ने आदेश दिइएको स्रोतले बताएको छ।
संरचनामा प्रहरीहरूको कम उपस्थिति र फिल्डमा केन्द्रित रहनाले पनि प्रहरीको ठूलो क्षति भएको हो। यसरी प्रहरीहरूले आफ्नो ज्यान समेत जोगाउन नसक्ने अवस्था भएपछि कतिपय प्रहरी परिसर पुगे, कतिपयले लुकेर ज्यान जोगाएका थिए। कतिलाई स्थानीयले जोगाए। जिल्ला प्रहरी परिसर ललितपुर मातहतका प्रहरी वृत्तहरू पनि अधिकांशमा क्षति पुगेको छ। परिसरको भवन र प्रहरी प्रभाग सानेपामा भने क्षति पुग्न पाएन।
ललितपुर परिसरमा राति अबेरसम्म पनि आगजनी तथा तोडफोडको प्रयास भएको थियो। तर प्रहरीले अश्रुग्यास र हवाइ फायर गरी जोगाए।
सानेपामा भने स्थानीय समेतको सहयोगमा जोगाइएको थियो। सानेपा प्रभागको भवन पनि स्थानीयहरूकै सहयोगमा बनेको हो। आन्दोलनका दुई दिनमा देशभर ५१ जनाले ज्यान गुमाएका छन् जसमध्ये तीन जना प्रहरी हुन्।