काठमाडौं । नेपाली सेनालगायतका सुरक्षा निकायहरू परिचालनमा रहँदा सोमबार साँझदेखि मंगलबार बिहानसम्म विभिन्न स्थानमा सुरक्षा गतिविधि तीव्र बनेका छन्। यस अवधिमा कैदी नियन्त्रणदेखि हतियार बरामद र शङ्कास्पद वस्तुको सुरक्षित डिस्पोजसम्मका महत्वपूर्ण कार्य सम्पन्न भएका छन्।
नेपाली सेना परिचालन भएपश्चात मिति २०८२ भदौ २५ गते बेलुका १८।०० बजेदेखि मिति २०८२ भदौ १०।३० बजेसम्मको सुरक्षा अद्यावधिक विवरण अनुसार, सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। कञ्चनपुरको चाँदनी क्षेत्रमा भारततर्फ भाग्न खोजेका सातजना कैदीलाई भारतीय सीमा सुरक्षा बलले नियन्त्रणमा लिई नेपाली सेनालाई बुझाएको छ। त्यस्तै, एकजना कैदीलाई स्थानीयले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयमा बुझाएका छन् भने १२ जना कैदी आफैं कारागारमा फर्किएका छन्।
यसैबीच, रामेछाप जिल्ला कारागारमा कैदीहरूले बाहिर निस्कनुपर्ने मागसहित गरेको झडपलाई नियन्त्रणमा लिन सेनाले गोली चलाउँदा १२ जना कैदी घाइते र दुईजनाको मृत्यु भएको पुष्टि भएको छ। त्यसैगरी, काभ्रेपलान्चोकको बनेपा नगरपालिका–९, नयाँ बस्तीमा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले सुरक्षित तरिकाले डिस्पोज गरेको जनाएको छ। सुरक्षा निकायको संयुक्त प्रयासमा हालसम्म ९४ नाल विभिन्न हतियार बरामद भएको समेत जानकारी गराइएको छ।