सिन्धुली। सिन्धुलीमा प्रहरीले बिहीबारसम्म कारागार कार्यालय फोरेर भागेका १६९ जना कैदीबन्दीलाई पक्राउ गरेको छ । कारागार कार्यालय सिन्धुलीमा बुधबार बिहान आगजनी गरी मुख्य गेट तोडेर भागेका ४७१ कैदीबन्दीमध्ये विभिन्न ठाउँबाट ती कैदीबन्दीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । १६० जनालाई बुधबार रातिसम्म र नौ जनालाई बिहीबार बिहान पक्राउ गरेको कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ गरेकामध्ये १४५ जना पुरुष र २४ जना महिला कैदीबन्दी रहेका छन् । बिहीबार विहान कमलामाई नगरपालिका –५ बेसारेबाट चार जना र मरिण गाउँपालिका –६ बाट दुई जना पुरुषलाई उनीहरुको घरबाटै पक्राउ गरी सदरमुकाम ल्याइदै गरिएको छ । बाँकीलाई बुधबार नै कमलामाई मन्दिर नजिकबाट २० जना, भिमान ९० जना, खुर्कोटबाट तीन जना र अरु विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका १४३ जना कैदीबन्दीलाई बुधबार राति नै कारागारभित्र छिराएको र महिला कैदीबन्दी प्रहरीको नियन्त्रणमा कारागार बाहिर नै रहेका प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कारागारभित्र महिला कैदीबन्दी राख्ने ठाउँ मर्मत र सरसफाई कार्य भइरहेकाले उनीहरुलाई बाहिर नै राखिएको हो । सम्भवतः बिहीबार बेलुकासम्म मर्मत कार्य सिध्याएर उनीहरुलाई पनि कारागारभित्र छिराइने छ ।’
कार्यालयका अनुसार यो भन्दा बाहेक झुम्का कारागारबाट भागेका एक जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । त्यस्तै, काठमाडौंका विभिन्न कारागारबाट भागको ६ जनालाई ईलाका प्रहरी कार्यालयले खुर्कोटले पक्राउ गरी राखेको छ ।
कारागार कार्यालय सिन्धुलीबाट ४२८ जना पुरुष र ४३ जना महिला गरी ४७१ जना कैदीबन्दी भागेका र उनीहरुको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक सुबेदीले बताउनुभयो । भागेका कैदीबन्दीलाई सम्पर्कमा आउने रेडियो–एफएमबाट सूचना प्रशारण भइरहेको कारागार प्रशासनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भागेका कैदीबन्दीलाई भेटेमा प्रहरीको सम्पर्क नम्बरहरुमा सूचना जानकारी दिन अनुरोध गर्दै सूचना प्रकाशन गरेको छ ।