मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। मुख्यमन्त्री बानियाँले प्रदेश सभाको मङ्गलबार बसेको बैठकबाट विश्वासको मत पाउनुभएको हो। ११० सदस्य रहेको बागमती प्रदेश सभाको मङ्गलबारको बैठक मतदानमा उपस्थित ९२ जना प्रदेश सभा सदस्य रहेकोमा मुख्यमन्त्री बानियाँले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा ६३ मत र विपक्षमा २२ मत परेको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी गराउनुभयो।
उहाँले मुख्यमन्त्री बानियाँले विश्वासको मतको लागि राख्नुभएको प्रस्तावको पक्षमा ६३ मत परेको र उक्त सङ्ख्या प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत भएकोले मुख्यमन्त्री बानियाँले राख्नुभएको विश्वासको प्रस्ताव बहुमतले पारित भएको प्रदेश सभामुख पाठकले घोषणा गर्नुभयो। विश्वासको मतका लागि भएको मतदानमा सात जना प्रदेश सभा सदस्य तटस्थ रहेका थिए। मुख्यमन्त्रीले राख्नु भएको विश्वासको मत माथिको प्रस्तावको विपक्षमा नेकपा माओवादी केन्द्र, नेकपा ( एकीकृत समाजवादी ) र राष्ट्रिय प्रजातन्त्र पार्टी मत दिएका थिए।
बागमती प्रदेश सभामा माओवादी केन्द्रको २१ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३ जना, नेकपा ९एकीकृत माओवादी समाजवादी०का सात र हाम्रो नेपाली पार्टीका दुई र नेपाल मजदुर किसान पार्टीका तीन जना प्रदेश सभा सदस्य रहेका छन्।
नेपाल मजदुर किसान पार्टी विश्वासको मतमाथिको मतदानमा तटस्थ बसेको छ। बानियाँ एमालेको समर्थनमा यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। मुख्यमन्त्री बानियाँले साउन २० गते नै एक जना बिना विभागीय मन्त्रीसहित आठ जना मन्त्री नियुक्ति गर्नुभएको थियो। यसअघि नेपाली कांग्रेसबाट नै मुख्यमन्त्री रहनुभएका बहादुर सिंह लामा तामाङले राजीनामा दिएपछि कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेता बानियाँलाई मुख्यमन्त्री बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो।
बानियाँसँग संसदीय दलको नेतामा लामा पराजित भएसँगै लामामाथि मुख्यमन्त्रीबाट राजीनामा दिन दवाव पर्दै आएको थियो। लामाले आफूले संविधानमा भएको व्यवस्था अनुसार राजीनामा दिनु नपर्ने अडान राख्नुभएको थियो। कांग्रेस सभापति शेरबहादुर देउवाको उपस्थितिमा भएको सहमतिपछि लामा मुख्यमन्त्रीबाट राजीनामा दिन सहमत हुनुभएको थियो। कांग्रेसभित्र मन्त्री मण्डल गठनमा गत वर्ष असारमा नेपाली कांग्रेस र नेकपा एमालैबीचको नयाँ सत्ता गठबन्धन बनेपछि कांग्रेसका लामा गत वर्ष साउन ८ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।