बुटवल । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाई उडले टालेर बन्द गरिएको प्रष्ट पारेको छ । कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिएको, कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको बताएकी छन् । यस्तै रविलाई राखिएको ब्लकभित्र झ्याल टालिएकाले राम्ररी हावा पास हुने अवस्था नदेखिएको, कोठामा एउटा चाइनिज र अर्को पार्टी प्यालेस मा प्रयोग हुने ठूलो गरी दुई ओटा पंखा रहेको जानकारी दिइन् ।
थापाले रविलाई स्थानान्तरणका लागि अनुमति नदिइएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिन् । ‘अदालतले भनिसक्दा पनि उहाँलाई जेल सार्न दिइएको रहेनछ । यस विषयमा कारागार व्यवस्थापन विभागसँग कुरा गर्छौँ,’ उनले भनिन् ।कारागारमा पत्रपत्रिका नआउने भएकाले रविसमेत त्यो सुविधाबाट वञ्चित रहेको थापाले जानकारी दिइन् । इन्सेककी प्रतिनिधि रिमा बिसीले कोठाभित्र दुईवटा पंखा रहेको बताइन् ।
‘एउटा ठूलो फलामको पंखा र अर्को स्ट्यान्ड पंखा छ । झ्यालहरू चाहिँ खोलिएको छैन । नजिकै घरहरू भएको र सर्पदंशको डर भएकाले झ्यालहरू बन्द गरिएको प्रशासनले बताएको छ । तर हामीले मोटो जाली वा डन्डी राखेर भए पनि झ्याल खोल्न भन्यौ । उहाँहरूले स्वीकार्नुभएको छ,’ उनले भनिन् । जेल प्रशासनले सुरक्षाका लागि झ्याल टालिएको बताएको थापाले बताइन् । आफूहरू झ्याल खोल्न भनेपछि कारागार प्रशासन खोल्न तयार भएको थापाले बताइन् ।